अमेरिकाको लस एन्जल्समा हिंसा भड्किँदै

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जल्समा सरकारले छापा मारेपछि सुरु भएको विरोध हिंसामा परिणत भएको छ। राज्य सरकारको सहमतिबिनै राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आप्रवासीविरुद्ध सहरमा छापा मार्न सुरु भएपछि हजारौँ मानिस सडकमा उत्रिएर प्रदर्शन गरेका हुन्। अमेरिकन अध्यागमन बिभागले गरिरहेको छापाको बिरूद्ध प्रदर्शनकारीहरूले तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन्। सो प्रदर्शनमा दर्जनौं सवारी साधानहरू तोडफोड भएका छन् भने प्रदर्शनकारीले १ सय १ भन्दा सडक अबरोध गरिरहेका छन्।
राष्ट्रपतिको आदेशमा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमसहित स्थानीय जनप्रतिनिधिले विरोध जनाएका छन्। उनीहरुले संघ सरकारको रवैयालाई अवैध र असंवैधानिक भन्दै राज्यको अधिकारमाथिको हस्तक्षेपको रुपमा लिएका छन्। यस कदमपछि क्यालिफोर्नियाको राज्य सरकार र संघीय सरकारबीच कानूनी तथा संवैधानिक विवाद चर्किएको छ। एजेन्सीहरुका अनुसार लस एन्जल्समा संघ सरकारको निर्णयविरुद्ध हजारौँ मानिस सडकमा उत्रिँदा कयौँ झडपका घटना भएका छन्।
जसमा दर्जनौँ व्यक्ति घाइते भएको र ५० भन्दा बढी गिरफ्तार भएको बताइएको छ। राष्ट्रपति ट्रम्पले भने संघीय कानूनको पालना गराउन आफू बाध्य भएर कदम चालेको दाबी गरेका छन्।