अमेरिका-चीन व्यापार वार्ता सफल

काठमाडौँ । अमेरिका-चीन व्यापार वार्ता सफल भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुइ देशनबीचको व्यापार युद्ध कम गर्न सुरु गरिएको वार्ता सहमतिमा पुगेको जानकारी दिएका छन्। ट्रम्पका अनुसार चीनले अमेरिकी कम्पनीहरूलाई चुम्बक र दुर्लभ खनिज पदार्थ आपूर्ति गर्न दिन सहमति जनाएको छ। यसको सट्टामा अमेरिकाले चिनियाँ विद्यार्थीहरूको भिसा खारेज गर्ने धम्की फिर्ता लिनेछ।
‘हाम्रो चीनसँगको सम्झौता सम्पन्न भएको छ, अब राष्ट्रपति सी र मैले अनुमोदन गर्न बाँकी छ,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्।
दुई दिनसम्म लन्डनमा भएको वार्तापछि यो सहमति भएको हो। वार्ता मेमा दुई देशबीच भएको अस्थायी युद्धविरामपछि उत्पन्न विवादहरू समाधान गर्न आयोजना गरिएको थियो।
यसअघि दुवै मुलुकले एकअर्कामाथि तीव्र रुपमा शुल्क वृद्धि गरेका थिए, जसले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापारलाई लगभग ठप्प बनाएको थियो। बिहीबार ट्रम्पले आगामी एक/दुई हप्ताभित्र अन्य व्यापार साझेदारहरूसँग एक पक्षीय शुल्क दर तोक्ने बताएका छन्। उनले जुलाई ९ को म्यादअघि नै नयाँ सम्झौताका सर्तहरूको विवरण समावेश गरिएका पत्रहरू पठाइने बताए।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने केही देशहरूसँग अझै वार्ता जारी राख्नका लागि केही शुल्कहरू अस्थायी रूपमा स्थगन गरिने जानकारी दिए। चीनसँग भएको नयाँ सम्झौताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। गत हप्ता ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्तापछि यो प्रक्रिया सुरु भएको थियो। वार्तामा दुवै देशका उच्च अधिकारीहरू सहभागी थिए। चीनका उपवाणिज्यमन्त्री ली चेङ्गगाङले भने, ‘५ जुनको फोन संवाद र जेनेभा बैठकमा भएका सहमतिहरू कार्यान्वयन गर्ने ढाँचा दुवै पक्षबीच मौखिक रुपमा तयार भएको छ।’
अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकले पनि पत्रकारहरूसँग ‘दुवै पक्ष जेनेभा सहमतिलाई कार्यान्वयन गर्ने ढाँचामा पुगेको’ बताए। उनले भने, ‘राष्ट्रपतिहरूले अनुमोदन गरेपछि हामी कार्यान्वयन प्रक्रियामा जानेछौं।’
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले अहिले सम्झौताको विवरण समीक्षा गरिरहेका बताइन्। उनले थपिन्, ‘तर, जुन कुरा राष्ट्रपति ट्रम्पले सुने, त्यो उनलाई मन पर्यो।’
लन्डन वार्ताको सुरुवात अमेरिकाले चीनबाट निर्यात हुने चुम्बक र दुर्लभ खनिज ढिलो पठाइएको भन्दै चिन्ता व्यक्त गरेपछि भएको थियो। ती खनिजहरू स्मार्टफोनदेखि लिएर विद्युतीय सवारीसम्म उत्पादन गर्न अत्यावश्यक मानिन्छ।
चीनले पनि अमेरिकाविरुद्ध आपत्ति जनाएको थियो। उसको भनाइ थियो- अमेरिकाले चिनियाँ विद्यार्थीहरूको भिसामा नियन्त्रण गरिरहेको छ। साथै कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी प्रविधिहरूमा चीनको पहुँचमा रोक लगाइएको चीनको आरोप थियो छ।
लुटनिकले बताए अनुसार अमेरिका केही ‘प्रतिकारात्मक उपायहरू’ हटाउन तयार भएको छ। तर उनले यसबारे विस्तृत विवरण दिएका छैनन्। -एजेन्सी