इरानद्वारा इजरायलमाथि जबाफी आक्रमण

काठमाडौँ । इरानले इजरायलमाथि जबाफी आक्रमण गरेको छ । इरानको आणविक र सैन्य सुविधालाई लक्षित गरी इजरायलले गरेको आक्रमण पछि इरानले शनिबार इजरायलमा जबाफी आक्रमण गरेको छ । शनिबार इजरायली सेनाले बासिन्दाहरूलाई सुरक्षित आश्रयमा शरण लिन आह्वान गर्दै इरानबाट दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । इरानले इजरायलका दर्जनौँ लक्ष्यहरूमा आक्रमण गर्दा तेल अवीवको डाउनटाउनका भवनहरू माथि धुवाँ उडिरहेको एएफपीले जनाएको छ । इजरायली अग्निशमन सेवाले आफ्नो टोलीले इरानी क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा प्रतिक्रिया दिँदै भवनमा फसेका मानिसहरूलाई उद्धार गर्ने काम गरिरहेको बताएको छ ।
इजरायली मिडिया रिपोर्टका अनुसार गुस दान क्षेत्रबाट ३४ जना घाइतेहरूको उद्धार गरेको उद्धारकर्ताहरूले बताएका छन् । उनीहरूका अनुसार ती मध्ये एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।
इरानको राजधानी तेहरानमा शनिबार मेहराबाद विमानस्थलबाट आगो र भारी धुवाँ निस्किएको एएफपीले जनाएको छ भने स्थानीय मिडियाले उक्त क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरेका छन् ।
यसअघि इरानले आफ्नो हवाई रक्षा प्रणाली सक्रिय गरेको र राजधानी भरि विस्फोटको आवाज सुनिएको बताएको थियो । दर्जनौँ मानिसहरू आफ्नो देशको सैन्य प्रतिक्रियालाई उत्साहित गर्न तेहरानको सडकमा राष्ट्रिय झण्डा फहराउदै इजरायल विरोधी नारा लगाएको जनाइएको छ ।
संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले शुक्रबार इजरायलले गरेको आक्रमणमा ७८ जनाको मृत्यु हुनुका साथै ३२० जना घाइते भएको बताएका छन् । – एजेन्सी