कच्चा तेलको मूल्यमा उच्च वृद्धि

काठमाडौँ । इजरायलले इरानका दुई प्राकृतिक ग्यास प्रशोधन केन्द्रमा आक्रमण गरेपछि कच्चा तेलको भाउ एकैदिन ३ प्रतिशतभन्दा बढीले बढेको छ। यो तनावले क्षेत्रीय ऊर्जा पूर्वाधारमा असर गर्ने र आपूर्ति अवरुद्ध हुने आशंका बढाएको छ। अमेरिकी क्रूड ओइलको मूल्य २.७२ डलर (३.७%) बढेर प्रति ब्यारेल ७५.६७ डलर पुगेको छ भने अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रूड ३.६७ डलर (४.९४%) ले उकालो लाग्दै ७७.९० डलर प्रति ब्यारेल पुगेको छ।
ईरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली ड्रोनले शनिबार दक्षिण ईरानको साउथ पार्स ग्यास क्षेत्रमा रहेका दुई प्रशोधन केन्द्रमा हमला गरेको हो। साउथ पार्स संसारकै ठूलो प्राकृतिक ग्यास क्षेत्रहरूमध्ये एक हो। यद्यपि, क्षतिको परिमाणबारे अझै स्पष्ट जानकारी आएको छैन।यससँगै, इजरायलले तेहरान नजिकैको एउटा ठूलो तेल डिपोमा पनि आक्रमण गरेको जनाइएको छ। अर्कोतर्फ, इरानी मिसाइलहरूले इजरायलको हाइफा सहरमा रहेको एक ठुलो तेल प्रशोधन केन्द्रमा क्षति पुर्याएको इजरायली सञ्चारमाध्यम ले उल्लेख गरेको छ।
इजरायलले इरानका आणविक कार्यक्रम र बलिस्टिक मिसाइल केन्द्रहरूमाथि शुक्रबार व्यापक हवाई आक्रमण गरेपछि तेल बजारमा चाप बढेको हो। अमेरिकी क्रूड तेल शुक्रबार मात्रै ७% माथि गएको थियो। गत हप्ता मात्र तेलको मूल्य कुल १३% बढेको छ, जुन मार्च २०२२ मा युक्रेनमाथि रसियाले आक्रमण गरेयता सबैभन्दा ठूलो वृद्धिको दिन हो।
ईरानी उच्च कमाण्डले होरमुज जलडमरूमध्य बन्द गर्न सक्ने चेतावनी दिएको छ। गोल्डम्यान साक्स का अनुसार विश्वका करिब २०% कच्चा तेलको ढुवानी यही जलडमरूमध्य भएर हुने गर्दछ। यदि यो बन्द भयो भने, तेलको मूल्य १०० डलर प्रति ब्यारेल नाघ्ने सम्भावना छ। तर केही विश्लेषकहरू ईरानले पूर्णरूपमा होरमुज बन्द गर्न सक्ने क्षमतामा आशंकित छन्। – एजेन्सी