हमास युद्धविराम प्रस्तावमा सकारात्मक

काठमाडौँ । प्यालेस्टाइनी लडाकु समूह हमासले गाजामा इजरायलसँग ६० दिनको युद्धविराम प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएको घोषणा गरेको छ। यसअघि नै अमेरिकाको पहलमा तयार गरिएको युद्धविरामको खाकामा इजरायलले सहमति जनाइसकेको थियो । यसमा हमास पनि सहमत भएपछि अब दुबै पक्ष युद्धविराम सम्झौताअघि अन्तिम र विस्तृत वार्तामा प्रवेश गर्ने अपेक्षा गरिएको छ। प्रस्तावअनुसार गाजामा रहेका ५० जना इजरायली बन्धकमध्ये युद्धविराम अवधिमा १० जना जीवित र १८ जना मृत बन्धक रिहा गरिनेछ। युद्धविरामको पहिलो दिन हमासले ८ जना जीवित बन्धक रिहा गर्नेछ, जसको बदलामा अज्ञात संख्यामा प्यालेस्टिनी कैदी बन्दीहरू रिहा गरिनेछ। त्यसपछि इजरायलले गाजाको उत्तरी भागबाट आफ्नो सेना फिर्ता गर्नेछ र दुवै पक्षबीच स्थायी युद्धविरामतर्फ वार्ता सुरू हुनेछ।
बन्धकहरू रिहा गर्दा हमासले कुनै पनि सार्वजनिक समारोह वा प्रचार नगर्ने कुरा प्रस्तावमा समावेश गरिएको छ। बाँकी बन्धकलाई प्रस्तावमा उल्लेख गरिएका थप चार मितिमा क्रमैसँग रिहा गरिनेछ। प्रधानमन्त्री बेन्यामिन नेतान्याहूका विश्वासपात्र रोन डेर्मरले वासिङ्टनमा अमेरिकी विशेष दूत स्टिभ विटकोफलगायत उच्च अधिकारीहरूसँग भेटघाट गरेपछि इजरायलले उक्त प्रस्तावमा मंगलबार सहमति जनाएको थियो । त्यसको भोलिपल्टै हमासले उक्त प्रस्ताव राष्ट्रिय परामर्शअन्तर्गत छलफलमा रहेको जनाउँदै आक्रमण अन्त्य, सेना फिर्ता र गाजावासीका लागि तत्काल राहत सुनिश्चित गर्ने सम्झौताको अपेक्षा राखेको थियो।
इजरायल र हमास अब छिट्टै सन्निकट वार्तामा प्रवेश गर्नेछन् । यो वार्तामा दुवै पक्ष एउटै भवनमा रहने तर प्रत्यक्ष भेट नगरी मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान गरिने बताइएको छ । – एजेन्सी