टेक्सासमा बाढी: ४६ जनाको मृत्यु, २० जना अझै बेपत्ता

काठमाडौँ । अमेरिकाको टेक्सासमा भीषण वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको छ । शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको र २० जना किशोरी अझै बेपत्ता रहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ । मृत्यु हुनेमा १८ जना किशोरी र बालिका तथा २८ जना बयस्कहरू छन् । बेपत्ता भएका किशोरीहरू ग्रीष्मकालीन शिविरका लागि क्याम्प मिस्टिकमा थिए ।
क्याम्प मिस्टिक टेक्सासको सबैभन्दा पुराना र प्रतिष्ठित बालिका शिविरहरूमध्ये एक हो । यहाँ सयौं बालिकाहरू हरेक वर्ष भाग लिन्छन् । उनीहरूलाई आत्मनिर्भरता, नेतृत्व विकास लगायत विभिन्न विषयहरू सिकाइन्छ । यस साता क्याम्प मिस्टिकमा झन्डै ७०० किशोरीहरू सहभागी थिए ।
क्याम्प मिस्टिक टेक्सासको केर काउन्टीको ग्वाडलुप नदी किनारमा छ । शुक्रबार नदीको बहाब बढेर बाढी आउँदा त्यहाँ धेरै किशोरीहरूलाई बगाएको अनुमान गरिएको छ । केहीलाई उद्धार गरिए पनि बेपत्ता रहेका २० जना किशोरीहरुको खोजी कार्य व्यापक बनाइएको छ । बाढीले धेरै घरहरूमा क्षति पुर्याएको छ। प्रमुख सडक र पुलहरूमा पनि बाढीले क्षति पुर्याएको छ ।-एजेन्सी