ट्रम्पद्वारा युक्रेनलाई थप हतियार दिने घोषणा

२०८२ असार २४ गते, मंगलवार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग लड्न युक्रेनलाई थप हतियार दिने बताएका छन्। जो बाइडेन सरकारले दिने निर्णय गरेको सटिक निशाना लाग्ने प्याट्रियट एअर-डिफेन्स सिस्टम अन्तर्गतका रक्षात्मक मिसाइल (इन्टरसेप्टर) र केही हतियारको आपूर्ति रोकेको एक हप्तामै उनले युटर्न लिएका हुन्।
रूसले हालै युक्रेनी सहरहरूमा गरेको भीषण आक्रमणका कारण आफूलाई अरू विकल्प नभएको उनले तर्क गरे भनेर द न्युयोर्क टाइम्सले लेखेको छ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नखोजेकाले आफू उनीसँग असन्तुष्ट भएको पनि ट्रम्पले भनेका छन्।
‘हामी केही थप हतियार पठाउनेछौं,’ ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग भने।
‘हामीले पठाउनुपर्छ। उनीहरूले आफूलाई बचाउन सक्षम हुनुपर्छ। अहिले उनीहरूलाई धेरै ठूलो प्रहार भइरहेको छ। हामीले थप हतियार, मुख्यतया रक्षात्मक हतियार पठाउनुपर्नेछ। तर उनीहरूमाथि धेरै कडा प्रहार भइरहेको छ। त्यो अराजकतामा धेरै मानिसहरू मरिरहेका छन्,’ उनले थपे।
इरानमाथि अमेरिकाले हमला गरेपछि ट्रम्पले रक्षा मन्त्रालयलाई आफूसँग कति गोलाबारूद छ भनेर समीक्षा गर्न निर्देशन दिएका थिए। सो समीक्षापछि युक्रेनलाई बाइडेन सरकारले दिने निर्णय गरेको हतियार रोकेको दुई अधिकारीको हवाला दिँदै टाइम्सले जनाएको छ।
ट्रम्पले शुक्रबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुरा गर्दा हतियारको आपूर्ति रोकेकोबारे पनि चर्चा भएको थियो। सो कुराकानी सौहार्दपूर्ण भएको र उनले जेलेन्स्कीलाई आफूले हतियार आपूर्ति नरोकेको बताएको भनेर समाचार आएका थिए। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]