दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनः पक्राउ

२०८२ असार २६ गते, बिहीबार


काठमाडौँ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनः पक्राउ परेका छन। गत वर्ष सैन्य शासनको असफल प्रयासका कारण देशलाई राजनीतिक संकटमा धकेलेका योललाई पुनः पक्राउ गरिएको छ। गत डिसेम्बरमा ६ घण्टाका लागि सैन्य शासन लागू गर्ने आदेशका कारण युनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो।
सियोलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले युनलाई प्रमाण नष्ट गर्न सक्ने आशङ्का व्यक्त गर्दै बुधबार पक्राउ पुर्जी जारी गरेका हुन्। युनलाई सैन्य शासन लगाउने प्रयास गरी विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलाइनेछ। बुधबारको सात घण्टा लामो सुनुवाइका क्रममा विशेष सल्लाहकार टोलीले पाँच प्रमुख आरोपहरूमा पक्राउ पुर्जीका लागि बहस गरेको थियो। जसमा सैन्य कानुन घोषणा गर्नुअघि मन्त्रिपरिषद्का केही सदस्यहरूलाई बैठकमा आमन्त्रित नगरेर उनीहरूको अधिकार उल्लङ्घन गरेको आरोप पनि समावेश छ।
युनलाई पहिलो पटक गत जनवरीमा पक्राउ गरिएको थियो। तर अदालतले प्राविधिक कारण देखाउँदै दुई महिनापछि पक्राउलाई उल्ट्याइदिएपछि उहाँ रिहा हुनु भएको थियो । तर अझै पनि उहाँले मुद्दाको सामना गरिरहनु भएको छ । यदि दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ। -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]