ट्रम्पद्वारा मेक्सिको र ईयूमाथि ३० प्रतिशत ट्यारिफ लगाउने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि मेक्सिको र युरोपेली युनियन (ईयू) बाट आयात हुने वस्तुहरूमा ३० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । ईयूले सुरुमा अमेरिकासँग औद्योगिक वस्तुहरूमा शून्य–ट्यारिफ व्यापार सम्झौताको प्रस्ताव गरेको थियो । तर महिनौँसम्मको तनावपूर्ण वार्तापछि पनि कुनै सम्झौता हुन सकेन । त्यसपछि ट्रम्पले ट्यारिफ घोषणा गरेका हुन् ।
उनले यस सम्बन्धमा मेक्सिको र युरोपेली संघलाई पत्र लेखेका थिए, जुन उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
ट्रम्पको यो निर्णयपछि २७ सदस्यीय ईयूले अब अमेरिकी बजारमा गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने देखिएको छ । ईयूले अमेरिकासँग व्यापार सम्झौता गर्न चाहिरहेका बेला ट्रम्पको यो कदमले व्यापार युद्ध (ट्रेड वार) झन् चर्किने सम्भावना बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।