नाटोद्वारा रुससँग व्यापार नरोके भारतलाई १०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी

काठमाडौँ । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले रुससँग व्यापार नरोके भारतमाथि १०० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएको छ ।
नाटो महासचिव मार्क रुटेले भारत, चीन र ब्राजिललाई चेतावनी दिँदै यस्तो बताएका हुन् । यदि यी देशहरूले रूससँग व्यापार जारी राखेमा उनीहरूलाई १०० प्रतिशत ट्यारिफसहितका अन्य ‘सेकेन्डरी प्रतिबन्ध’प्रतिबन्ध पनि लगाउने चेतवानी उनले दिएका छन् ।
रुटेले अमेरिकी सिनेटरहरूसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै भने, ‘यदि तपाईं भारतका प्रधानमन्त्री, चीनका राष्ट्रपति वा ब्राजिलका राष्ट्रपति हुनुहुन्छ भने तपाईंले बुझ्नुपर्छ—रुससँग व्यापार गर्नुको गम्भीर मूल्य चुकाउनुपर्नेछ।’
रुटेले तीनै देशहरूलाई युक्रेनविरुद्धको युद्ध रोक्नका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब दिन आग्रह गरेका छन् । यी देशहरूको दबाबले पुटिन शान्ति वार्तामा गम्भीर बन्ने उनको अनुमान छ । यदि यस्तो नभए ती देशहरूमा अमेरिकी शैलीका कडा प्रतिबन्ध लगाउने चेतावनी उनले दिए।
यसैबीच, रुसी उप-विदेश मन्त्री सर्गेई रियाबकोभले नाटो र अमेरिकाको चेतावनीलाई अस्वीकार गरिदिएका छन् । ‘रुस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न तयार छ, तर यस्तो धम्की हामी स्वीकार गर्दैनौँ’, उनले भनेका छन् ।
उनले अनेक अमेरिकी प्रतिबन्धका बाबजुद रुस आफ्नो नीति परिवर्तनको पक्षमा नरहेको बताए । ‘आर्थिक दबावका बाबजुद रुसले आफ्नो नीतिमा कुनै परिवर्तन गर्ने छैन’, उनले भने, ‘बरू वैकल्पिक व्यापारिक मार्ग खोज्नेछ।’ – एजेन्सी