इजरायलद्वारा गाजामा हवाई आक्रमण : २५ जनाको मृत्यु

काठमाडौँ । इजरायली हवाई आक्रमण र गोलाबारीवाट गाजापट्टीको दिर अल–बलाहमा २५ जनाको मृत्यु भएको जनाइएको छ । शिफा अस्पतालका कर्मचारीले बताएअनुसार, धेरैजसो मानिस जिकिम क्रसिङनजिक सहायता ट्रकको प्रतीक्षा गर्दै गर्दा मारिएका थिए ।
इजरायली सेनाले यो घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अस्पताल र एम्बुलेन्स सेवाले जनाएअनुसार, आक्रमणमा गाजा सिटीको अपार्टमेन्टमा चारजनाको मृत्यु भएको छ ।
इजरायल र हमासबीचको युद्धविराम वार्ता रोकिएका बेला आक्रमण गरिएको छ । अमेरिका र इजरायलले आफ्ना वार्ता टोलीलाई फिर्ता बोलाएका छन् । त्योसँगै वार्ताको भविष्यबारे अनिश्चितता कायम छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शुक्रबार हमाससँगको युद्धविराम वार्ताबाहेक ‘वैकल्पिक विकल्प’मा विचार गरिरहेको बताएका थिए ।
हमासका एक अधिकारीले भने अर्को हप्ता वार्ता पुनः सुरु हुन सक्ने बताए । इजरायली र अमेरिकी प्रतिनिधिमण्डलको फिर्तालाई दबाबको रणनीति भनेर उनले टिप्पणी गरे । इजिप्ट र कतारले वार्ता अस्थायी रूपमा रोकिएको र पुनः सुरु हुने जनाएका छन् । यद्यपि, उनीहरूले कहिले सुरु हुने भनेका छैनन् । यी दुई देश अमेरिकासँग मिलेर वार्तामा मध्यस्थता गरिरहेका छन् । – एजेन्सी