अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता भएको घोषणा गरेका छन् । उनले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग व्यापार सम्झौता भएको जानकारी दिएका हुन् ।
स्कटल्याण्डमा ट्रम्पको टर्नबेरी गल्फ रिसोर्टमा भएको महत्वपूर्ण बैठकपछि यो सम्झौता भएको हो। यो सम्झौता अगस्ट १ को म्याद भन्दा ठीक अगाडि भएको छ। दुवै पक्ष एकअर्काका सबैभन्दा ठूलो व्यापार साझेदार हुन्। कुल विश्व व्यापारको एक तिहाई यी दुईबीच हुन्छ।
ट्रम्पले पत्रकारहरूलाई भने- ‘हामीले एउटा सम्झौता गरेका छौं। यो सबैका लागि राम्रो छ। ’
ट्रम्पले यसलाई दुवै पक्षको ठूलो जित भएको बताए। भोन डेर लेयनले पनि यो सम्झौतालाई युरोपका लागि राम्रो सम्झौता भएको बताइन् ।
तर, सम्झौताको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन । तर अमेरिकी राष्ट्रपतिले सम्झौताबारे केही कुरा भनेका छन् । उनका अनुसार यो सम्झौताले अधिकांश ईयूका सामानमा १५ प्रतिशत सामान्य भन्सार लगाइ्रनेछ । युरोपले कुनै शुल्क नलाग्ने चाहेको थियो तर दुवैलाई हानिबाट जोगाउन यो सम्झौता गरिएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपतिले युरोपेली संघबाट अमेरिका आउने सामानमा १५ प्रतिशत भन्सार लाग्ने बताएका छन् । युरोपेली संघले अमेरिकाबाट ठूलो परिमाणमा सैन्य उपकरण खरिद गर्नेछ। यसले अमेरिकाबाट १५० अर्ब डलरको ऊर्जा खरिद गर्नेछ र ६०० अर्ब डलर लगानी गर्नेछ। यो सम्झौताले कृषिमा पनि प्रभाव पार्नेछ । सम्झौतामा कार र चिप्सबारे पनि छलफल भएको ट्रम्पको दाबी छ । स्टिल र आल्मुनियममा अहिले कुनै परिवर्तन हुनेछैन।
यदि सम्झौता नभएको भए ईयूले अमेरिकी सामानहरूमा १०९ अर्ब डलर प्रतिशोधात्मक कर लगाउने तयारी गरेको थियो। तर अब सम्झौता भएसँगै यस्तो हुने छैन । ट्रम्प प्रशासनले यस कार्यकालमा हस्ताक्षर गरेको यो पाँचौं व्यापार सम्झौता हो।
यसअघि अमेरिकाले बेलायत, जापान, इन्डोनेसिया र भियतनामसँग पनि सम्झौता गरेको थियो । भारतलगायतका अन्य देशहरुसँग सम्झौताका लागि पनि छलफल भइरहेको छ । एजेन्सी