ट्रम्पद्वारा भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत भन्सार कर लगाउने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा अगस्ट १ देखि लागू हुने गरी २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले भारतले रूसबाट ठूलो मात्रामा सैन्य उपकरण र ऊर्जा खरिद गरिरहेको आरोप लगाउँदै यो स्वीकार्य नभएको बताउदै करबृद्धिको घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रूससँग व्यापारको बदलामा भारतले २५ प्रतिशत भन्सार कर तिर्नुपर्ने राष्ट्रपति ट्रम्पले बताएका हुन् । भारत र अमेरिकाबीच गएको केही महिनादेखि निष्पक्ष र पारस्परिक लाभदायक व्यापार सम्झौताका लागि वार्ता चलिरहेपनि सहमति जुटन सकेको थिएन ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले प्रतिक्रिया दिँदै भारत सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइबारे जानकारी लिएको र यसको सम्भावित प्रभावको अध्ययन गरिरहेको जनाएको छ । भारतीय विपक्षी दल कांग्रेसले सरकारको विदेश नीतिलाई विफल भएको बताउँदै प्रधानमन्त्री मोदीको ट्रम्पसँगको मित्रताको मूल्य पूरा देशले चुकाउनु परेको आरोप लगाएको छ । सत्तारुढ भारतीय जनता पार्टीका सांसदले अमेरिकी पक्षसँग फेरि संवाद गर्नुपर्ने बताएका छन् । – एजेन्सी