हमासद्वारा प्यालेस्टाइनलाई राज्यको मान्यता नदिएसम्म हतियार नबिसाउने चेतावनी

काठमाडौँ । हमासले प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राज्यको मान्यता नदिएसम्म हतियार नबिसाउने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टीभ विटकोफले हमासले हतियार छोड्न तयार भएको टिप्पणी गरेपछि हमासले यस विषयमा प्रतिक्रिया दिएको हो।
हमासले आफ्नो प्रतिरोधको अधिकार सुरक्षित राख्ने बताएको छ। इजरायलले गाजा आक्रमण अन्त्यका लागि हमासको निसस्त्रीकरणलाई मुख्य शर्त बनाएको छ। हालै इजरायल र हमासबीच बन्धक रिहासहित युद्धविरामका लागि अप्रत्यक्ष वार्ता रोकिएको छ।
यता बेलायत, फ्रान्स, क्यानाडालगायत केही पश्चिमी देशहरूले प्यालेस्टीनलाई मान्यता दिने तयारी गरिरहेका छन्। यसैबीच, इजरायली सेनाका जनरल आयल जामिरले वार्ताबाट बन्धकहरू मुक्त नभएमा गाजामा युद्ध जारी रहने चेतावनी दिएका छन्। गाजामा मानवनिर्मित भोकमरी फैलिएको भन्दै संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरिसकेको छ। जारी इजरायली आक्रमणका कारण गाजामा खाद्यान्न आपूर्ति नहुँदै भोकमरीबाट दैनिक दर्जनौँ बालबालिकाले ज्यान गुमाइरहेका छन्। एजेन्सी