ट्रम्प र रुसी समकक्षी पुटिनबीच अलस्कामा भेटवार्ता हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज (शुक्रबार) भेटवार्ता हुँदैछ । लामो समयदेखि जारी रुस युक्रेन युद्ध अन्त्यका लागि आजको वार्ताले सकारात्मक वातावरण बनाउने अपेक्षा गरिएको छ । ट्रम्प र पुटिनको वार्ता अलास्कामा हुन लागेको हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसले भने युक्रेनका डोन्सटक, लुहान्सक, झाम्पोझारिया र खेसरन फिर्ता नगर्ने सर्तमा छलफल अघि बढाउन चाहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने दुबै देशले केही सीमा गुमाउनसक्ने संकेत गरेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेको सबै जमिन दिन आफू तयार नभएको बताइसकेका छन् । वार्तामा ट्रम्पले अन्तर्राष्ट्रिय दबाबको सिर्जना गर्दै रुसलाई युद्ध विराम गर्न बाध्य बनाउने प्रयास गर्ने अपेक्षा गरिएको छ ।
१९ औँ शताब्दीमा रुसले अमेरिकालाई बेचेको अलास्कामा दुई शीर्ष नेताले भेटवार्ता गर्न लागेका हुन् । यो वार्तामार्फत रुस र अमेरिका बीचको आर्थिक सम्बन्ध पनि सुमधुर हुने सम्भावना छ । दोस्रो पटक अमेरिकाको राष्ट्रपतिका लागि भएको चुनावी अभियानको क्रममा ट्रम्पले रुस र युक्रेनमा शान्ति स्थापनाको प्रयास गर्ने बताएका थिए ।