पोर्चुगलमा रेल दुर्घटना : १५ जनाको मृत्यु, १८ घाइते

काठमाडौँ । पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । राजधानी लिस्बनमा भएको दुर्घटनामा थप १८ जना घाइते भएका छन्।
बिबिसीका अनुसार घाइतेमध्ये पाँच जनाको स्वास्थ्य अवस्था गम्भीर छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार रेल लिकबाट उछिट्टिएर एक भवनमा बज्रिन पुगेको थियो ।
रेलको सपोर्टिङ केबल भाँचिएपछि लिक छाडेको समाचारमा उल्लेख छ । रेलका डिब्बा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । मृतकको पहिचान हुन बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ ।
यसैबीच, पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुजाले दुर्घटनामा परेकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । लिस्बनका मेयर कार्लोस मोएडेसले यो राजधानीको लागि ‘दुःखद क्षण’ भएको बताए ।