फ्रान्सद्वारा प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता

२०८२ आश्विन ७ गते, मंगलवार

काठमाडौँ । फ्रान्सले प्यालेस्टाइनलाई औपचारिक रूपमा राज्यको मान्यता दिएको छ। न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको बैठकमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले शान्ति स्थापनाको समय आएको घोषणा गर्दै प्यालेस्टाइनलाई राज्यको मान्यता दिने घोषणा गरे। उनले गाजामा भइरहेको युद्धको कुनै औचित्य नभएको पनि बताएका छन्। यस्तै बेल्जियम, लक्जमबर्ग, माल्टा, अन्डोरा र सान मरिनोले प्यालेस्टाइनलाई राज्यलाई मान्यता दिने योजना बनाएका छन्।
बेलायतले भने अघिल्लो दिन नै एक घोषणामार्फत् प्यालेस्टाइनलाई राज्यको मान्यता दिइसकेको छ। न्यूयोर्कमा जारी राष्ट्र संघीय बैठकमा फ्रान्स र साउदी अरेबियाले इजरायल–प्यालेस्टाइनमा दुई देश समाधानको लागि योजनामा काम गरिरहेको बीबीसीले जनाएको छ।
इजराइलले भने यस्ता कदमहरुले हमासलाई थप हौसला दिइरहेको भन्दै विरोध जनाएको छ। सन् २०२३ को ७ अक्टोबरमा हमास समूहले इजरायलमा घुसेर आक्रमण गरेयता इजरायलले गाजामा निरन्तर आक्रमण जारी राखेको छ। जसमा हालसम्म ६५ हजार मानिसको मृत्यु भइसकेको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]