इजरायलद्वारा पुनः युद्धविराम कार्यान्वयन गर्ने प्रतिबद्धता

२०८२ कार्तिक ४ गते, सोमबार

काठमाडौँ । इजरायलले पुनः युद्धविराम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। गाजामा आफ्ना सैनिक मारिएको भन्दै इजरायलले हवाई आक्रमण सुरु गरेको थियो। १० अक्टोबरयता हमासले जिवित बन्धक फिर्ता र केही मृतकको शव हस्तान्तरणपछि पनि इजरायलले गाजाका विभिन्न ठाउँमा आक्रमण गरेको थियो।
हिजो मात्रै इजरायली सेनाले राफाहमा आफ्ना सैनिकमाथि एंटी–ट्यांक मिसाइल र गोलीबारी भएको दाबी गर्दै आक्रमण गरेको थियो। जहाँ दुई इजरायली सेना मारिएको बताइएको छ।
त्यसलगत्तै इजरायलले गाजाका विभिन्न ठाउँमा आक्रमण गर्दा ४४ जनाको मृत्यु भयो। तर हमासले भने गाजामा कतै झडप नभएको र इजरायली सेना नमारिएको दाबी गरेको छ।
अलजजिराका अनुसार युद्धविरामयता मात्रै गाजामा इजरायली आक्रमणमा ९७ जनाको मृत्यु भइसकेको छ। इजरायलले हवाई आक्रमण गर्न थालेपछि अन्तर्राष्ट्रिय समुदायबाट विरोध भएको छ।
अमेरिकी मध्यस्थतामा गाजामा युद्धविराम भएको थियो भने इजिप्टमा गाजा शान्ति सम्झौता भएको थियो। यो बीचमा हमासले २० जिवित बन्धक रिहा गरेको छ। मृत्यु भएका २८ जनामध्ये नेपालका विपिन जोशीसहित १२ जनाको शव हस्तान्तरण गरेको छ। यसको बदलामा इजरायलले २५० प्यालेस्टिनी कैदी र गाजाबाट पक्राउ परेका १ हजार ७ सय १८ जना रिहा गरेको छ। तर, त्यसलगत्तै इजरायलले हवाई आक्रमण गरेपछि गाजामा पुनः संकट बढेको थियो। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]