सी र ट्रम्पबीच भेटवार्ता हुँदै

२०८२ कार्तिक १४ गते, बिहीबार

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ। दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन्। दक्षिण कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे बुसान शहरमा ट्रम्प र सी बीच भेट हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
यस्तै चिनियाँ विदेश मन्त्रालयले पनि ट्रम्प र सी बीचको भेटको समय तय भएको पुष्टि गरेको छ। चिनियाँ विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध र आपसी हित जस्ता मुद्दामा कुराकानी हुनेछ।
ट्रम्प र सी बीचको भेटअघि मलेसियामा दुई देशका उच्चाधिकारीबीच भएको वार्ताले व्यापार सम्झौताको ढाँचा तयार गरेको बताइएको थियो। ट्रम्प र सी ले दक्षिण कोरियाको ग्यांग्झूमा एशिया प्यासेफिक इकोनोमिक कोअपरेशन एपेकको शिखर सम्मेलनमा पनि भाग लिनेछन्।
सोही सम्मेलनमा भाग लिनुअघि उनीहरुबीच भेटवार्ता तय भएको हो। ट्रम्प र सीबीच अमेरिकी किसानका सोयाबिन र कृषि उत्पादन खरिद, सन्तुलित व्यापारका विषयमा छलफल हुनेछ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]