राजा चार्ल्स तृतीयले आफ्ना कान्छा भाइ एन्ड्र्यूको राजकीय अधिकार खोसे !
 
                
काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीयले आफ्ना कान्छा भाइ एन्ड्र्यूको राजकीय अधिकार खोसेका छन्। बकिंघम दरबारले बिहीबार विज्ञप्ति जारी गर्दै एन्ड्र्यूको राजकुमार पद, राजकीय उपाधि, सम्मान र अधिकारहरू कानुनी रूपमै खोस्ने प्रक्रिया सुरू गरिएको जानकारी गराएको हो । दरबारले अब उनलाई एन्ड्र्यू माउन्टब्याटन विन्डसर नामले मात्रै चिनिने भनेको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ । उनलाई लण्डनस्थित राजसी निवास रोयल लजबाट समेत निकालिने र बस्नका लागि निजी आवासको व्यवस्था गरिने बकिंघम दरबारले जनाएको छ ।
बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँगको सम्बन्धका कारण इन्ड्र्यूलाई राजकीय पद, अधिकार र सम्मानबाट बञ्चित गराइएको न्यूयोर्क टाइम्सले लेखेको छ । एपस्टिनले शक्तिशाली व्यक्तिहरुका लागि ुकलिला किशोरीहरू व्यवस्था गर्नेु चर्चा केही दशकदेखि नै चल्दै आएको थियो । यो वर्ष अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि एपस्टिनको ५० औं जन्मदिनमा शुभकामना सन्देश पठाएको सार्वजनिक गरेको थियो । एपस्टिनले त्यति बेला वेश्यावृत्तिमा प्रयोग गरेका कतिपय किशोरीले हुर्किसकेपछि उक्त घटना सार्वजनिक गरेका थिए । एक महिलाले वर्षौंअघि आफू किशोरी हुँदा तत्कालीन बेलायती राजकुमार एन्ड्रयूले यौन सम्बन्ध राखेको आरोप लगाएकी थिइन् ।
यही कारणले सन् २०१९ मा एन्ड्रयूलाई सार्वजनिक जिम्मेवारीबाट निलम्बन गरिएको थियो भने २०२२ मा महारानी एलिजाबेथ द्वितीयले एन्ड्र्यूको सैनिक उपाधि र ‘हिज रोयल हाइनेस’ को प्रयोग अधिकार फिर्ता लिएकी थिइन् । त्यसबेला उनले सबै सार्वजनिक जिम्मेवारीबाट पनि हटाइएका थिए। गत हप्ता मात्रै एन्ड्र्यूले आफ्नो अर्को प्रमुख उपाधि ‘ड्युक अफ यर्क’ पनि परित्याग गर्ने घोषणा गरेका थिए ।
दरबारका अनुसार राजा चार्ल्सले अब “ड्युक अफ यर्क” र ‘हिज रोयल हाइनेस’ जस्ता सम्मान पनि हटाउने औपचारिक पत्र रोयल वारेन्ट पठाउने तयारी गरेका छन् ।
एन्ड्र्यूले सन् २००४ देखि विन्डसरस्थित रोयल लजमा बस्दै आएका थिए। तर अब उक्त दरबार पनि छोड्नुपर्ने भएको छ। उनले सन् २००३ मा क्राउन इस्टेटसँग ७५ वर्षको लिज सम्झौता गरेका थिए। यो सम्झौताअनुसार उनले वार्षिक भाडा तिर्नुको सट्टा एकमुष्ट करिब ८ मिलियन पाउण्ड बराबरको रकम अग्रिम तिरेका थिए। यो रकमले उनलाई भविष्यका भाडा तिर्ने जिम्मेवारीबाट मुक्त गरेको थियो। तर अहिले यो सम्झौता दरबारले रद्द गर्दै उनलाई विन्डसर सम्पत्तिबाट निकाल्ने प्रक्रिया सुरु गरेको हो । एन्ड्र्यूलाई अहिले नर्फोकस्थित स्यान्ड्रिङ्घम दरबार परिसरमा रहेको निजी निवासमा सारिने तयारी गरिएको छ । राजाले उनलाई आफ्नै निजी कोषबाट आर्थिक सहयोग गर्ने जनाइएको छ ।
एन्ड्र्यूका दुई छोरी राजकुमारी युजेनी र राजकुमारी बीट्रिस भने आफ्ना उपाधि र शाही दर्जा कायम राख्नेछन्। – एजेन्सी

 
                 
                             
                             
                         
                         
                        