‘गाजाबाट तत्काल इजरायली सेना फिर्ता गर’

२०८२ कार्तिक १९ गते, मंगलवार

काठमाडौँ । इस्लामिक देश (पाकिस्तान, टर्की, साउदी अरब, इन्डोनेसिया, कतार, जोर्डन र यूएई)हरुले गाजाबाट तत्काल इजरायली सेना फिर्ता गर्न माग गरेका छन्। इजरायलले युद्धविराम तोडेको भन्दै उनीहरुले गाजामा स्थायी शान्ति र दीर्घकालीन युद्धविरामका लागि सेना तत्काल फिर्ता हुनुपर्ने माग गरेका हुन्।
पाकिस्तान, टर्की, साउदी अरब, इन्डोनेसिया, कतार, जोर्डन र यूएईका परराष्ट्रमन्त्रीहरुको इस्तानबुल बसेको बैठकले युद्धविरामको पालना गर्न ध्यानाकर्षण गराए।
हामास र इजरायलबीच गत अक्टोबर ९ मा भएको युद्धविराम सम्झौताअनुसार कैदीहरूको साटासाट र अमेरिकी राष्ट्रपतिको मध्यस्थतामा शान्ति पहल सुरु भएको थियो। तर, इजरायली हवाई आक्रमणका कारण युद्धविराम बारम्बार संकटमा परेको छ।
इस्तानबुलमा भएको बैठकपछि जारी वक्तव्यमा सबै नेताहरूले प्यालेस्टाइनीहरुका लागि तत्काल मानवीय सहायता, गाजाबाट इजरायली सेनाको फिर्ती र प्यालेस्टाइनी स्वशासनअधीन गाजाको पुनर्निर्माणको माग गरे।
पाकिस्तानले सन् १९६७ अघिका सिमानाभित्र स्वतन्त्र र एकीकृत प्यालेस्टाइनका पक्षमा आफ्नो अडान दोहो¥याएको छ। टर्कीका परराष्ट्रमन्त्री हाकान फिदानले प्यालेस्टाइनीहरुले आफैं शासन र सुरक्षाको जिम्मा लिनु पर्ने र अन्तर्राष्ट्रिय समुदायले यसलाई कूटनीतिक र आर्थिक सहयोग दिनुपर्ने आवश्यकता औँल्याए। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]