अमेरिकाद्वारा इरानले इजरायली राजदूतको हत्या योजना बनाएको दाबी
काठमाडौँ । अमेरिकाले इरानको रिभोल्युसनरी गार्ड कर्प्सले मेक्सिकोस्थित इजरायली राजदूत एइनात क्रान्ज नाइगरमाथि हत्या योजना बनाएको दाबी गरेको छ। अमेरिकाका अनुसार गत वर्षको अन्त्यदेखि सुरु भएको उक्त योजना यो वर्षको पहिलो ६ महिनासम्म रहेको जनाएको छ।
मेक्सिको सरकारले भने यो घटनाबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ। अमेरिका र उसका सहयोगीहरूले इरान र उसका प्रतिनिधिहरूमाथि विश्वभर आफ्ना विरोधीहरूमाथि हिंसात्मक आक्रमण र हत्या योजनाको आरोप लगाउँदै आएका छन् । तर इरानी अधिकारीहरूले यी सबै आरोपलाई राजनीतिक रूपमा प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका छन्।
इरानको संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। गत वर्ष बेलायत र स्विडेनका सुरक्षा संस्थाहरूले पनि तेहरानले आपराधिक समूहमार्फत् ती देशहरूमा आक्रमण गराउने प्रयास गरेको चेतावनी दिएका थिए। बेलायतले २०२२ यता इरानसँग सम्बन्धित २० वटा षड्यन्त्र विफल पारेको दाबी गरेको छ। इरान र इजरायलबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ। पछिल्ला महिनामा अमेरिकी सहयोगका साथ इजरायलले इरानी आणविक स्थापनामाथि हवाई आक्रमण गरेपछि दुवै देशबीचको तनाव अझ बढेको छ । -एजेन्सी
