पुटिनद्वारा युक्रेनका दुई ठूला सहर कब्जा गरेको दाबी
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाले युक्रेनका पूर्वी भागमा रहेका दुई सहर नियन्त्रणमा लिएको दाबी गरेका छन्। युक्रेन युद्ध अन्त्यका लागि शान्ति सम्झौताको विषयमा छलफल गर्न अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग मस्कोमा हुने भेटको अघिल्लो दिन पुटिनले युक्रेनी सहरमा कब्जाको दाबी गरे।
यसको उद्देश्य रुस अगाडि बढिरहेकाले सम्झौताको आवश्यकता नरहेको सन्देश दिनु रहेको एपी न्युजले जनाएको छ। तर, युक्रेनले पुटिनको दाबीलाई झुठो भन्दै खण्डन गरेको छ। पुटिन र रुसी सेनाले यसअघि पनि युक्रेनी सहरहरू समयभन्दा अगाडि नै कब्जा गरेको दाबी पटक–पटक गर्दै आएका छन्। कब्जा गरेको भनिएको पोक्रोभस्क युक्रेनको लागि एक महत्वपूर्ण रक्षात्मक किल्ला हो। रुसले ठूलो मूल्य चुकाएर एक वर्षभन्दा बढी समयदेखि यो सहर कब्जा गर्ने प्रयास गरिरहेको छ। त्यस्तै भोभ्चान्स्क क्षेत्र युक्रेनको खार्किभ क्षेत्रमा, रुसको सिमाना नजिक अवस्थित छ। रुसले त्यहाँ पनि महिनौंदेखि आक्रमण गरिरहे पनि निर्णायक रूपमा कब्जा गर्न सकेको छैन। – एजेन्सी
