थाइल्यान्ड र कम्बोडिया विवाद : ५ लाखभन्दा धेरै नागरिक घरबार छोड्न बाध्य
काठमाडौँ । थाइल्यान्ड र कम्बोडियाबीचको विवादका कारण चार दिनमा ५ लाखभन्दा धेरै नागरिक घरबार छोड्न बाध्य भएका छन । सीमा क्षेत्रमा भएको दोहोरो गोलाबारीका कारण नागरिकहरु घरबार छोडन बाध्य भएका हुन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुलाईमा गराएको युद्धविरामपछि दुई देशबीच फेरी द्धन्द्ध चर्किएको हो । दुवै देशले एक–अर्कालाई युद्ध शुरु गरेको आरोप लगाएका छन् । द्धन्द्धका कारण दुबै देशमा गरी १३ जना सैनिक तथा सर्वसाधारण नागरिकको मृत्यु भइसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
थाइल्यान्डको रक्षा मन्त्रालयका अनुसार सात राज्यका सुरक्षित आश्रयस्थलमा ४ लाखभन्दा धेरै थाइ नागरिकलाई सारिएको छ । कम्बोडियाले पनि पाँच वटा राज्यका १ लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुई देशबीचको संघर्षमा थाइ लडाकु विमानले कम्बोडियाको एउटा सैन्य संरचनामा आक्रमण गरेको थाइल्यान्डको दाबी छ भने कम्बोडियाली पक्षले पनि थाइल्यान्डका सीमा क्षेत्रमा १२ भन्दा बढी ठाउँमा रकेट र तोप प्रहार गरेको बताएको छ । अस्पताल र बस्तीहरू नजिक गोलाबारी भएपछि नागरिक अस्थायी त्रिपालमा बस्न बाध्य भएका छन् । सीमावर्ती क्षेत्रमा विस्फोटको आवाज लगातार आईरहेको समाचारमा जनाइएको छ ।
गत जुलाइमा अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम विफल भएपछि ट्रम्पले पुनः फोनमार्फत हस्तक्षेप गर्ने घोषणा गरे पनि थाइ विदेशमन्त्रीले वार्ताको सम्भावना तत्काल नभएको बताएको प्रतिक्रिया दिनुभएको छ । ह्युमन राईट्स वाचले संघर्ष तीव्र गतिमा अघि बढेको र कम्बोडियाले लामो दूरीका रकेट अनियन्त्रित तरिकाले प्रयोग गरेको जनाएको छ । थाइल्यान्डले कम्बोडियाले आधुनिक बमहरु तयार गरेर राखेको आरोप लगाए पनि कम्बोडियाले अस्वीकार गरेको छ । – एजेन्सी
