दक्षिण सुडानमा ड्रोन आक्रमण: बंगलादेशका छ शान्ति सेनाको मृत्यु
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मिसनले सुडानको दक्षिण कोर्डोफान क्षेत्रमा ड्रोन आक्रमणमा बंगलादेशका छ जना संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको मृत्यु भएको बताएको छ । बंगलादेशले आक्रमणको कडा निन्दा गरेको छ। संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बलले दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको उनीहरूको शिविरमा ड्रोन आक्रमण भएको जनाएको छ । छ जना सैनिक मारिएका छन् भने छ जना घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणलाई भयानक भन्दै यो अन्तर्राष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुन सक्ने बताएको छ । गुटेरेसले दक्षिण कोर्डोफानमा शान्ति सेनामाथि यस्ता आक्रमणहरू कुनै पनि हिसाबले जायज छैनन् र जवाफदेहिता स्थापित हुनुपर्ने बताए ।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले एक विज्ञप्तिमा आक्रमणबाट आफू गहिरो दुःखी भएको बताएका छन् । उनले आक्रमणमा छ जनाको मृत्यु भएको र आठ जना घाइते भएको जानकारी दिए ।
युनुसले बंगलादेशी कर्मचारीहरूलाई आवश्यक पर्ने सबै आपतकालीन सहयोग प्रदान गर्न संयुक्त राष्ट्र संघलाई अपील गरे । उनले यो कठिन समयमा बंगलादेश सरकार पीडित परिवारको साथमा उभिने बताए । बंगलादेशको विदेश मन्त्रालयले पनि आक्रमणको कडा निन्दा गरेको छ। सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेई क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेना तैनाथ छन् ।
