अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरियो !

२०८२ माघ १० गते, शुक्रबार


काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि सुरु गरेको बहिर्गमन प्रक्रिया अनुरुप संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठन (WHO) बाट आधिकारिक रूपमा बाहिरिएको छ। हिजो जनवरी २२ मा पूर्ण भएसँगै अमेरिका र संगठनबीचको ७७ वर्ष लामो साझेदारी अन्त्य भएको हो।
दोस्रो कार्यकाल सम्हालेको एक वर्ष पुग्दा ट्रम्प प्रशासनले संगठनलाई बुझाउन बाँकी रहेको करिब २७ करोड डलर बक्यौता रकम समेत नतिर्ने अडान लिएको छ। कोरोना महामारीको समयमा संगठनले चीनको पक्ष लिएको र अमेरिकी सार्वभौमिकतामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै वासिङ्टनले यो कठोर कदम चालेको हो।
अमेरिका बाहिरिएपछि डब्लुएचओले आफ्नो कुल बजेटमा ठूलो अभाव खेप्नुपर्ने भएको छ। यसको असरस्वरूप संगठनले कर्मचारी कटौती र विश्वव्यापी स्वास्थ्य कार्यक्रमहरूमा २५ प्रतिशतले बजेट घटाउने तयारी गरेको छ।
अमेरिकाले भने अब संगठनमार्फत नभई विभिन्न देशहरूसँग सिधै द्विपक्षीय समन्वय गरेर स्वास्थ्य सहायता उपलब्ध गराउने स्पष्ट पारेको छ। यसले नेपालजस्ता विकासोन्मुख देशका खोप अभियान र महामारी नियन्त्रण कार्यक्रममा दीर्घकालीन प्रभाव पार्ने जोखिम बढेको छ।

प्रतिक्रियाहरु

[anycomment]