ट्रम्पद्वारा इरानलाई तत्काल परमाणु सम्झौता गर्न चेतावनी

२०८२ माघ १६ गते, बिहीबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमको बारेमा तत्काल सम्झौता गर्न कडा चेतावनी दिएका छन् । उनले खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति तीव्र रूपमा बढाइँदै गएको सन्दर्भमा समय सकिँदै गएको भन्दै इरानलाई वार्ताको टेबलमा आउन आग्रह गरेको बताइएको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा विशाल अमेरिकी सैन्य शक्ति उत्साह र निश्चित उद्देश्यसहित अघि बढिरहेको दावी गर्दै यो नौ सैनिक समूह भेनेजुएलामा पठाइएको सैन्य शक्ति भन्दा पनि ठूलो रहेको चेतावनी दिएका हुन् ।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इरानको सशस्त्र बल अमेरिकी जवाफका लागि तयार रहेको भन्दै स्थल वा समुद्रबाट हुने कुनै पनि आक्रमणको “तत्काल र शक्तिशाली जवाफ” दिन तयार रहेको चेतावनी दिएका छन् । इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दोहोर्रयाउँदै आएको हो । परमाणु हतियार बनाउने अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ ।
हालै अमेरिकी सेनाले जोर्डन, कतार, बहराइन, हिन्द महासागर क्षेत्रमा लडाकु विमान, ड्रोन, जासुसी विमान, इन्धन भर्ने जहाज र युद्धपोतहरू तैनाथ गरेको हो । जोर्डनको मुवाफाक सल्ती एयर बेसमा मात्रै कम्तीमा १५ लडाकु विमान पुगेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसैबीच, इरानले पनि आफ्नो तट नजिकै आईआरआईएस ड्रोन क्यारियर जहाज तैनाथ गरेको उपग्रह तस्बिरहरू सार्वजनिक भएका हुन् । सन् २०१५ को परमाणु सम्झौता अनुसार इरानलाई युरेनियम ३ दशमलव ६७ प्रतिशतभन्दा बढी बनाउन प्रतिबन्ध भएपनि ट्रम्पले सन् २०१८ मा सम्झौताबाट अमेरिका बाहिरिएपछि इरानले ती प्रतिबन्धहरू उल्लङ्घन गर्दै आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]