अमेरिकी संसद्‌मा सरकारी कामकाज ठप्प

२०८२ माघ २१ गते, मंगलवार

काठमाडाैँ । अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेपछि मतदानको बाटो खुलेको हो । सङ्घीय अध्यागमन एजेन्टहरूको कारबाहीका कारण उत्पन्न विवादले खर्चसम्बन्धी वार्ता अवरुद्ध भएको थियो । विशेषगरी मिनियापोलिसमा दुई अमेरिकी नागरिकको मृत्यु भएपछि डेमोक्रेटिक आक्रोश बढ्दा गृह मन्त्रालयका लागि नयाँ कोषको विषय अझ जटिल बनेको थियो ।
यसअघि सिनेटले सेप्टेम्बरसम्म अधिकांश सङ्घीय एजेन्सी सञ्चालनका लागि अझै पास हुन बाँकी रहेका पाँचवटा कोष विधेयक पारित गरेको थियो । साथै अध्यागमन नीतिमा थप छलफल गर्न डिएचएस सञ्चालनका लागि दुई हप्ताको अस्थायी उपाय पनि स्वीकृत गरिएको थियो ।
सरकारी कामकाज ठप्पले गैर–आवश्यक सङ्घीय सेवाका लागि कोष रोक्का हुने, सेवाहरू बन्द हुने र कर्मचारीहरू बेतलबी बिदामा बस्नुपर्ने अवस्था सिर्जना गर्दछ ।
अध्यागमन प्रवर्तनका विषयमा केही सांसदले असन्तुष्टि जनाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयक तत्काल पारित गर्न दबाब दिँदै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत अहिले कानूनमा परिवर्तन सम्भव नभएको भन्दै शीघ्र अनुमोदनको आह्वान गरेका थिए ।
डेमोक्रेटहरूले खर्च विधेयक पारित हुनु अघि अध्यागमन एजेन्टहरूको कार्यशैलीमा सुधारको माग गरेका छन् । गत महिना मिनियापोलिसमा दुई नागरिकको मृत्यु भएपछि यस विषयमा राष्ट्रिय स्तरमै आलोचना चर्किएको थियो ।
यसै सन्दर्भमा गृहमन्त्री क्रिस्टी नोमले सङ्घीय एजेन्टहरूले तत्काल शरीर क्यामेरा प्रयोग गर्ने घोषणा गरेका छन्, जसलाई पछि देशभर विस्तार गरिने बताइएको छ । राजनीतिक रूपमा संवेदनशील वार्ताकाबिच सदनका सभामुख माइक जोनसनले सम्झौता नजिक पुगेको विश्वास व्यक्त गरेका छन् । तर रिपब्लिकन पक्षको साँघुरो बहुमतका कारण खर्च विधेयक पारित गर्न डेमोक्रेटिक मतमा भर पर्नुपर्ने सम्भावना पनि देखिएको छ । यदि सदनले सिनेटको सम्झौता अनुमोदन गरेमा सांसदहरूसँग डिएचएसको पूर्ण वर्षको कोष विधेयकमा सहमति जुटाउन दुई हप्ता मात्र समय रहनेछ ।-रासस

प्रतिक्रियाहरु

[anycomment]