टर्कीको संसद्मा सत्तारुढ र विपक्षी सांसदहरूबीच झडप
काठमाडौँ । टर्कीको संसद्मा सत्तारुढ र विपक्षी सांसदहरूबीच झडप भएको छ। बुधबार राष्ट्रपति रजेप तैयप एर्दोगानले इस्तानबुलका पूर्व प्रमुख अभियोजक अकिन गुर्लेकलाई न्यायमन्त्री नियुक्त गरेपछि विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) ले कडा विरोध जनाउँदै शपथ ग्रहण रोक्न खोज्दा संसद् भवन रणमैदानमा परिणत भएको हो।
विपक्षी सांसदहरूले गुर्लेकलाई रोस्ट्रमसम्म पुग्न नदिन खोजेपछि स्थिति नियन्त्रणबाहिर गएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा सांसदहरू एक–अर्कामाथि जाइलाग्दै धकेलाधकेल र मुक्का हानाहान गरेको देखिन्छ। झडपका क्रममा केही सांसदहरूको हात र अनुहारमा सामान्य चोट लागेको जनाइएको छ।
संसद्मा बोल्दै विपक्षी दलका एक वरिष्ठ नेताले न्यायमन्त्री नियुक्तिको कडा आलोचना गरे। “न्यायपालिकालाई हतियार बनाएर विपक्षीको घाँटी रेट्ने व्यक्तिलाई हामी न्यायमन्त्रीका रूपमा स्वीकार गर्न सक्दैनौँ। यो लोकतन्त्रको उपहास हो,” उनले भने।
सीएचपीका अध्यक्ष ओजगुर ओजेलले पनि एर्दोगानमाथि सिधा आरोप लगाउँदै संघर्ष जारी रहने चेतावनी दिए। “एर्दोगानले गुर्लेकलाई नियुक्त गरेर हाम्रो पार्टीको पहिचानमाथि प्रहार गरेका छन्। भोलिको दिन आजभन्दा झन् कठिन हुनेछ, तर हामी आत्मसमर्पण गर्ने छैनौँ,” ओजेलले भने।
यद्यपि, सत्तारुढ एके पार्टीका प्रवक्ता ओमार चेलिकले विपक्षीको व्यवहारलाई असंसदीय भन्दै सरकारको कदमको बचाउ गरेका छन्। “जनताको मतबाट चुनिएको सरकारले गर्ने नियुक्तिमा अवरोध पुर्याउनु लोकतान्त्रिक चरित्र होइन। न्यायपालिका स्वतन्त्र रूपमा चल्ने कुरामा सरकार प्रतिबद्ध छ,” उनले बताए।
गुर्लेक इस्तानबुलका प्रमुख अभियोजक हुँदा इस्तानबुलका लोकप्रिय मेयर एकरेम इमामोग्लुसहित सीएचपीका धेरै नेतामाथि मुद्दा चलाएका थिए। यही पृष्ठभूमिका कारण उनको न्यायमन्त्री नियुक्तिले टर्कीको राजनीतिक वातावरण थप तातेको विश्लेषकहरूको भनाइ छ। – एजेन्सी
