इजरायलद्वारा लेबनानमा आक्रमण : हिजबुल्लाह कमाण्डरसहित १० जना मारिए
काठमाडौँ । इजरायलले लेबनानमा गरेको हवाइ आक्रमणवाट हिजबुल्लाह कमाण्डरसहित १० जना मारिएको बताइएको छ। मारिनेमध्येमा हिजबुल्लाहका वरिष्ठ कमाण्डर हुसैन मोहम्मद याघी (हुसैन याघी) पनि परेका छन्। लेबनानका आधिकारिक तथा सुरक्षा स्रोतहरूले यो पुष्टि गरेका छन्। हुसैन याघी पूर्व हिजबुल्लाह सांसद मोहम्मद याघी (जसलाई अबु सलीम पनि भनिन्छ) का छोरा हुन् र हिजबुल्लाहका संस्थापक सदस्यमध्ये एकका रूपमा चिनिन्छन्।
हिजबुल्लाहले उनको शहादत घोषणा गर्दै लेबनान र यसका जनताको रक्षामा शहीद भएको भनेको छ। उनको अन्त्येष्टि शनिबार हुने बताइएको छ। केही रिपोर्टमा अन्य दुई हिजबुल्लाह कमाण्डरहरू अली जायद अल–मुसावी र मोहम्मद इब्राहिम अल- मुसावी पनि मारिएको उल्लेख छ।
लेबनानी सुरक्षा स्रोतकाअनुसार इजरायली विमानहरूले आवासीय क्षेत्र र हिजबुल्लाहका स्थलहरूमा कम्तीमा ६ वटा हमला गरेका थिए। घाइतेहरूलाई क्षेत्रीय अस्पतालहरूमा पुर्याइएको छ भने भग्नावशेषमुनि फसेकाहरूको खोजी जारी छ। बालबेक शहरमा केन्द्रित यी हमलाहरूमा बालबालिकासमेत घाइते भएको बताइएको छ।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले जारी गरेको विज्ञप्तिमा भने बालबेकमा हिजबुल्लाहका कमान्ड सेन्टरहरूलाई निशाना बनाइएको दाबी गरेको छ। आईडीएफका अनुसार यी सेन्टरहरूबाट हिजबुल्लाह लडाकुहरूले आईडीएफ सेना र इजरायलविरुद्ध आतंककारी हमला गर्न प्रयोग गर्दै आएका थिए। हिजबुल्लाहबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। गाजा युद्ध शुरु भएपछि ९अक्टोबर २०२३० देखि हिजबुल्लाह र इजरायलबीच सीमा क्षेत्रमा द्वन्द्व चलिरहेको थियो। दुवै पक्षबीच नोभेम्बर २७, २०२४ मा युद्धविराम सम्झौता लागू भएको छ। तर इजरायलले समय–समयमा लेबनानमा हमला जारी राखेको छ र यसलाई हिजबुल्लाहको खतरा हटाउने उद्देश्यले गरिएको बताउँदै आएको छ। यो घटना युद्धविरामपछि पूर्वी लेबनानमा भएको सबैभन्दा घातक हमलाहरूमध्ये एक हो। – एजेन्सी
