पाकिस्तानद्वारा अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा

२०८२ फाल्गुन १५ गते, शुक्रबार


काठमाडौँ । पाकिस्तानले अफगान तालिवानविरूद्ध ‘खुला युद्ध’को घोषणा गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिवानलाई चेतावनी दिँदै भनेका छन्– ‘हाम्रो धैर्य समाप्त भइसक्यो । अब खुला युद्ध हुन्छ ।’
बीबीसी उर्दुका अनुसार सोशल मिडिया प्लेटफर्म एक्समा जारी बयानमा उनले अफगान तालिवानमाथि ‘अफगानिस्तानमा विश्वभरबाट आतंकवादीहरू एकत्रित गरेको आरोप लगाएका छन् । काबुलमा अन्तरिम सरकारले आतंकवाद निर्यात गरेको पाकिस्तानी रक्षामन्त्री आसिफको आरोप छ ।
अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानद्वारा राजधानी काबुल, पक्तिका र कन्धारका केही स्थानहरूमा बमबारी भएको पुष्टि गरेका छन् । उनले आक्रमणबाट कुनै हताहती भने नभएको बताएका छन् ।
पाकिस्तानी रक्षामन्त्री आसिफले अफगान तालिवानले आफ्नो मुलुकका नागरिकलाई मानवाधिकारबाट वञ्चित गरेको र इस्लामले महिलालाई दिएको अधिकार खोसेको पनि आरोप लगाएका छन् ।
बीबीसी उर्दुका अनुसार पाकिस्तानी सरकारले अहिलेसम्म सैन्य अभियानका क्रममा अफगान तालिवानका १३३ सदस्य मारिएका र दुई सय घाइते भएका दाबी गरेको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले एक्समार्फत् अफगानिस्तानका काबुल, पक्तिका र कन्धारमा रहेका अफगान तालिवानका रक्षा स्थललाई निशाना बनाइएको बताएका छन् । उनले पाकिस्तानको अभियानमा अफगान तालिवानका दुई कोर मुख्यालय, दुई हतियार डिपो, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय र ८० भन्दा बढी ट्यांक नष्ट गरिएको पनि दाबी गरेका छन् ।
यद्यपि, बीबीसी हिन्दीले दाबीको स्वतन्त्र रूपले पुष्टि गर्न नसकिएको बताएको छ । पाकिस्तानी सूचनामन्त्री अताउल्लाहले पाकिस्तानका तर्फबट अफगान तालिवानविरूको अभियान अहिले पनि जारी रहेको उल्लेख गरेका छन् ।– बीबीसी

प्रतिक्रियाहरु

[anycomment]