अमेरिकाद्वारा इरानका १६ डुंगा नस्ट गरेको दाबी
काठमाडौँ । अमेरिकाले होर्मुज स्ट्रेट (जलडमरू क्षेत्र)मा माइन बिछ्याउने इरानका १६ वटा डुंगामाथि आक्रमण गरेर पूर्ण रूपमा नष्ट गरेको जनाएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले सामाजिक सन्जाल एक्समार्फत् आक्रमणको भिडियो सार्वजनिक गरी यो जानकारी दिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्ता आक्रमण आगामी दिनमा पनि जारी रहने बताएका छन् । के हो स्ट्रेट अफ होर्मुज ? स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण र रणनीतिक रूपमा संवेदनशील समुद्री मार्ग हो । यो एउटा साँघुरो जलमार्ग हो जसले पर्शियन खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्छ । यसको उत्तरमा इरान छ भने दक्षिणमा संयुक्त अरब इमिरेट्स (यूएई) र ओमान (मुसान्डम प्रायद्वीप) रहेका छन्। यो मार्गलाई विश्वको ‘ऊर्जाको लाइफलाइन’ मानिन्छ ।
विश्वमा खपत हुने कुल पेट्रोलियम पदार्थको झण्डै २० देखि २५ प्रतिशत यही बाटो भएर ढुवानी हुन्छ । साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत र कतार जस्ता ठूला तेल र ग्यास उत्पादक राष्ट्रहरूले निर्यातका लागि यही मार्ग प्रयोग गर्छन् । यो जलमार्ग एकदमै साँघुरो छ । यसको सबैभन्दा साँघुरो विन्दुमा चौडाइ मात्र २१ माइल (३३ किलोमिटर) जति छ । जहाजहरू हिँड्ने मुख्य लेन त झन् २–२ माइल मात्र चौडा छ । भौगोलिक अवस्थितिका कारण यो मार्गमा इरानको बलियो पकड छ ।
इरान र अमेरिका वा अन्य पश्चिमा देशहरूबीच तनाव बढ्दा इरानले यो मार्ग बन्द गरिदिने धम्की दिइरहन्छ । यदि यो मार्ग थोरै समयका लागि मात्र पनि अवरुद्ध भयो भने विश्वभर तेलको मूल्यमा भारी वृद्धि हुन्छ र विश्व अर्थतन्त्रमै संकट आउन सक्छ ।
