पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला
![](https://www.janakhabar.com/wp-content/uploads/2021/02/pasupati-natha-150x150-1.jpg)
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । उनले पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ शनिबारदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको जानकारी दिए ।
चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ । अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान साढे ९ देखि साढे ११ बजेसम्म खुला गरिँदै आएको थियो ।
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।