भारतमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि

२०८३ जेष्ठ ९ गते, शनिबार


काठमाडौँ । भारतमा पेट्रोल र डिजेलको मूल्य १० दिनमा तेस्रोपटक बढेको छ। भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ८७ पैसा बढेर ९९.५१ भारतीय रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल पनि प्रतिलिटर ९१ पैसा बढ्दै ९२.४९ भारतीय रुपैयाँ पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो वृद्धि पछिल्लो १० दिनभन्दा कम अवधिमा तेस्रो पटक गरिएको हो।
यसअघि मे १९ मा पेट्रोल र डिजेलको मूल्य औसतमा प्रतिलिटर ९० पैसा बढाइएको थियो भने त्यसअघि मे १५ मा एकैपटक प्रतिलिटर करिब ३ रुपैयाँसम्म वृद्धि गरिएको थियो। यसरी छोटो अवधिमा लगातार मूल्य वृद्धि भएपछि भारतीय उपभोक्ता बजारमा इन्धन महँगिएको प्रत्यक्ष असर देखिन थालेको छ।
भारतीय तेल कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै लागत समायोजन गर्दै मूल्य संशोधन गरिएको जनाएका छन्। सरकारी स्वामित्वका इन्डियन आयल, भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियम कम्पनीहरू लामो समयदेखि घाटामा सञ्चालन छन्। पेट्रोलियम मन्त्रालयका अनुसार पेट्रोल, डिजेल र एलपीजी बिक्रीमा यी कम्पनीहरूले मासिक करिब ३० हजार करोड भारतीय रुपैयाँ बराबरको घाटा बेहोर्नु परिरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। पश्चिम एसियामा देखिएको तनाव र आपूर्ति शृंखलामा आएको अवरोधका कारण कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ७० अमेरिकी डलरबाट बढेर १०० डलरभन्दा माथि पुगेको छ। यही कारण उत्पादन लागत बढ्दै जाँदा इन्धन मूल्यमा पनि चाप परेको हो।
भारतमा इन्धनको मूल्य मार्च २०२४ देखि लामो समयसम्म स्थिर थियो। लोकसभा निर्वाचन २०२४ अघि सरकारले उपभोक्तालाई राहत दिन प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको थियो। तर त्यसपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उतारचढाव रहेकाले अहिले पुनः मूल्य समायोजनको क्रम सुरु भएको हो।
भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको नेपालमा भने यस मूल्यवृद्धिको सम्भावित प्रभावबारे चासो बढेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल, डिजेल र अन्य इन्धन खरिद गर्दै आएको छ। त्यसैले भारतमा हुने मूल्य परिवर्तनले आयात मूल्यमा असर पार्ने र त्यसअनुसार नेपालमा पनि खुद्रा मूल्य समायोजन हुन सक्ने सम्भावना रहन्छ।

प्रतिक्रियाहरु

[anycomment]