फुटको संघारमा एमाओवादी
काठमाडौं, १३ साउन । एकीकृत नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई पक्षधरले छुट्टाछुट्टै जिल्ला समिति गठनलाई तीव्रता दिएका छन्। विराटनगर सम्मेलनपछि मकवानपुरबाट सुरु भएको समानान्तर समिति गठन गर्ने क्रम सिन्धुली, पर्सा, गोरखा हुँदै धनुषासम्म पुगेको छ। धनुषाको समानान्तर समितिको औपचारिक घोषणा भट्टराई पक्षले साउन १७ गते गर्ने भएको छ। विराटनगर सम्मेलनअघि नै केही जिल्लामा समानान्तर समिति गठन भएका थिए।
भट्टराईको गृहजिल्लामा दाहाल पक्षधरले लेखबहादुर थापालाई अध्यक्ष चयन गरेलगत्तै भट्टराई पक्षले यानप्रसाद भट्टराईको नेतृत्वमा नयाँ समिति गठन गरेको थियो। ‘गोरखामा पार्टीको नीति र योजनाविपरीत पार्टी फुटाउने षड्यन्त्र गर्दै आमक्रान्तिकारी जनसमुदायको भावना र सहिद, बेपत्ता योद्धाहरुको सपनाविपरीत केही अराजक र फुट परास्त साथीले साउन १० गते गोरखामा छुट्टै जिल्ला भेला गरी समानान्तर जिल्ला समिति गठन गरेका छन्। यसले पार्टी विधि र पद्धतिको ठाडो उल्लंघन गरेको छ,’ थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। थापाले अर्का समितिका अध्यक्ष भट्टराई, पूर्व सभासद ज्ञानेन्द्र कुमाल र रमेश पोखरेललाई निष्काशन गरिएको जनाएका छन्।
एमाले छाडी माओवादी प्रवेश गरेको रामचन्द्र झाको गृहजिल्ला धनुषामा १७ गते समानान्तर समिति घोषणा हुँदैछ। ‘भ्रष्टाचार र अन्य कयौं आरोप’ मा मुछिएका रामचन्द्र मण्डललाई जिल्ला इन्चार्जमा दोहोर्याँएपछि त्यसलाई अस्वीकार गर्दै पूर्वसभासद शिला यादवको नेतृत्वमा अर्को समिति घोषणा हुन लागेको हो।
सिन्धुलीमा दाहाल पक्षका राजन दाहाललाई अस्वीकार गर्दै भट्टराई पक्षले दीर्घराज श्रेष्ठलाई जिल्ला अध्यक्ष बनाएको छ। भट्टराई प्रधानमन्त्री हँुदा मुख्यसचिवको जिम्मेवारी पाएका गंगानारायण श्रेष्ठको गृहजिल्ला सिन्धुलीमा दुइटा समिति गठन भएपछि त्यसलाई मिलाउने प्रयत्न जारी रहेको माओवादीले जनाएको छ।
पर्सामा बलराम साह, बाबुराम कौशिक र जोगेन्द्र साहलगायत नेतृत्वमा छुट्टाछुट्टै तीन जिल्ला समिति बनेका छन्। बारामा रञ्जित पट्टेल र जयराम दाहालको नेतृत्वमा छुट्टाछुट्टै समिति लामो समयदेखि सक्रिय छन्।
रौतहटमा विराटनगर सम्मेलनअघि नै विन्देश्वर यादव र धीरज पट्टेलको नेतृत्वमा अलग–अलग जिल्ला समिति गठन भएका थिए। उक्त विवादलाई हल गर्ने भन्दै केन्द्रले केन्द्रीय सदस्य उपेन्द्र साहलाई जिम्मेवारी तोकेको थियो। तर, सभासदद्वय अशोक जयसवाल र सत्यनारायण भगत, पूर्वसभासद देवेन्द्र पट्टेललगायतले भने त्यसलाई अस्वीकार गरी छुट्टै भेला गर्दै आएका छन्।
मकवानपुरमा पूर्वसभासद प्रह्लाद लामिछाने र प्रेमबहादुर पुलामीको अध्यक्षतामा दुइटा समिति छन्। लामिछाने भट्टराईनिकट र पुलामी दाहालनिकट नेता हुन्। जिल्लामा दुवै समिति सक्रिय भएपछि माओवादीको संगठन अस्तव्यस्त बनेको कार्यकर्ताले बताएका छन्।
बैतडीमा केन्द्रीय सदस्य रेणु चन्द र नरेन्द्र कँुवरको नेतृत्वमा दुई अलग समिति सक्रिय छन् भने बाँकेमा वामदेव क्षेत्री र उमेश खनालको नेतृत्वमा गठन भएका दुई समितिमध्ये कुन आधिकारिक हो भन्ने विषय अझै टुंगिएको छैन।
सांगठानिक विवाद मिलाउने भन्दै आयोजना गरिएको विराटनगर सम्मेलनले थप विवाद र कलह निम्त्याएपछि त्यसलाई हल गर्न केन्द्रीय कार्यालयले वर्षमान पुन, देवेन्द्र पौडेललगायत सदस्य रहेको कार्यदल बनाए पनि त्यसले समस्या हल गर्न सकेको छैन। विवाद मिलाउन कार्यदल गठन भएलगत्तै चार जिल्लामा समानान्तर समिति बनेका हुन्।
पार्टी प्रवक्ता दीनानाथ शर्माले समानान्तर समिति गठन भएका जिल्लाका समस्या समाधान गर्न कार्यदललाई सक्रिय बनाउने निर्णय भएको बताए। ‘समानान्तर समिति गठन भएका जिल्लामा कार्यदलका सदस्य गएर विवाद मिलाउने निर्णय भएको छ,’ शर्माले नागरिकसँग भने, ‘पार्टी विधान र नीतिविपरीत गठन भएका कुनै पनि समितिलाई केन्द्रले मान्यता दिँदैन, आफूखुसी समिति घोषणा गर्नेलाई पार्टीले कारबाही गर्ने प्रक्रिया अघि बढाउँछ।’ उनका अनुसार ढिलासुस्ती गर्दा केही समस्या आएकाले भूगोलमै पुगेर समस्या समाधान गर्न केन्द्रले कार्यदललाई निर्देशन दिइसकेको छ।