भिजिट भिसामा नयाँ मापदण्ड लागू
काठमाडौँ । अध्यागमन विभागले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका लागि तोकिएको छ बुँदे मापदण्ड खारेज गरी नयाँ व्यवस्था लागू गरेको छ। गृह मन्त्रालयको २०८२ साउन १३ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार, अब भिजिट भिसामा विदेश प्रस्थान गर्न इच्छुक नेपाली नागरिकले केवल चारवटा कागजात पेश गरे पुग्नेछ। विभागले संविधानप्रदत्त नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभूति गर्न र स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्दै भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलापहरू नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्द्धन गर्ने भन्दै नयाँ मापदण्ड लागु गरिएको जानकारी दिएको छ ।
छ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरिए बमोजिम २०८० माघ १० देखि लागू भएको छ बुँदे मापदण्डलगायत विभिन्न समयमा जारी गरिएका भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरिएको अध्यागमन विभागले जनाएको छ।
मन्त्रीस्तरीय निर्णयबाट बिहीबारदेखि चार बुँदे नयाँ प्रावधान लागू गरिएको छ । जसमा कम्तीमा ६ महिना वैध अवधी भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तब्यसम्मको हवाइ टिकट र आफू भ्रमण गर्ने प्रयोजनको लागि जान लागेको, सोको लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने समेत व्यहोराको प्रस्थान गर्ने व्यक्तिले गरेको स्वःघोषणा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । अध्यागमन विभागले कुनै पनि बिचौलियाको प्रभावमा नपर्न समेत आग्रह गरेको छ ।
