विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू हुँदै
काठमाडौँ । अध्यागमन विभागले आगामी जनवरी १ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्ने भएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले पर्यटकहरूको सुरक्षाको सुनिश्चितता, सूचना प्रवाहमा सहजता, पर्यटन प्रवद्र्धन, र अपराध नियन्त्रणका लागि उक्त प्रणाली लागू गर्न लागिएको बताए । उनले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको गतिविधि र आवाससम्बन्धी विवरण राज्यलाई अनिवार्य रूपमा थाहा हुनुपर्ने स्पष्ट गर्दै आगामी जनवरी १ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू हुने बताए ।
महानिर्देशक तिवारीकाअनुसार जसरी राज्यका नागरिकहरुको अवस्थाबारे राज्यलाई थाहा हुनुपर्छ त्यसरी नै विदेशी नागरिकको अवस्थासँगै उनीहरु आएको मुलुकमा अवस्था सरकारलाई जानकारी हुन अपरिहार्य भएकोले यो प्रणालीको विकास गरिएको बताए । उनले भने- ‘जसरी हरेक नेपालीको गतिविधि राज्यलाई थाहा हुनुपर्छ, त्यसरी नै नेपाल आउने विदेशीको बारेमा चासो सरकारले राखेको हो । उनीहरुलाई स्वतन्त्रता छ भन्दैमा राज्यलाई थाहा हुनुपर्दैन भनेको होइन, राज्यले चासो नराख्नुपर्ने ठाँउमा राख्न पाउँदैन । तर राख्नुपर्ने ठाउँमा राख्नुप¥यो । कोही मान्छे चुकुल लगाएर कोठामा पसे पछि, यो कोठामा छिरेको थियो भन्ने सम्म सरकारले हेर्न पाउँछ, चुकुल लगाएर छिरे पछि मैले अपराध गर्दा सम्म राज्यले हेर्न पाउँदैन । म त्यहाँ कसरी सुत्छु, कस्तो लुगा लगाएर सुत्छु भनेर हेर्न नपाउने मात्र हो । फलानो होटलमा छिरेको थियो भन्ने राख्न त राज्यले अहिले पनि अनिवार्य नै गरेको छ, पहिचान सहितको राख्नुपर्छ भनिएको छ । त्यसो हुँदा अब हामी कहाँ अब कुनै विदेशी पनि विदेशी नेपाल आए पछि हामीले जनावरी १ देखि ‘एकोमोडेसन’ अनिवार्य घोषणा गर्नुपर्नेछ ।’
अध्यागमन विभागले यो प्रणालीबारे जानकारी दिन आयोजित छलफलमा ‘नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स ऐजन्ट्स’की वरिष्ठ उपाध्यक्ष तेजश्वी तुलाधरले आफूले पनि यो प्रणालीको बारेमा पर्यटकहरुलाई बुझाउने बताईन । उनले यो प्रणाली लागू गर्दा विदेशी पर्यटकको जानकारी राख्न समेत सघाउ पुग्ने बताउदै अध्यागमनमा सुधारको खाँचो समेत रहेको बताईन ।
वरिष्ठ उपाध्यक्ष तुलाधरले दुबईसहित विदेशी मुलुकहरुले पर्यटकहरुलाई फ्रिमा सिम दिने गर्छन्, त्यो व्यवस्था नेपालमा समेत अध्यागमनबाटै मिलाउँदा उनीहरुको अवस्था बुझ्न सहज हुनेबताउदै भनिन – ‘मेरो बुझाइअनुसार सरकारले लागू गर्न लागेको यो प्रणाली ट्रयाकिङ नै हो । मेरो विचारमा यो गलत होइन किनभने यसले टुरिस्टको पनि सेफ्टि हुनेछ र हामीलाई डेटाहरु संकलन गर्न सघाउ पुग्नेछ । त्यो काम राम्रो छ । हामी कहाँ जुन पर्यटक आउँछ, पर्यटक आउँदा उहाँहरुलाई प्रणालीबारे जानकारी गराइएन भने यो डेटा लिन गाह्रो हुन्छ ।’
यसैगरी, नेपाल यातायात व्यावसयी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले व्यवस्थित यातायात प्रणालीको विकास हुन जरुरी रहेको बताउए । उनले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गर्न सरकारले होटल, एयरलाइन्स लगायतका क्षेत्रसँग पनि समन्वयन गर्नुपर्नेमा जोड दिदै भने- ‘‘यातायात व्यवसायीहरुलाई नागरिक तह र राज्यबाट दोषी पात्रको रुपमा हामीलाई हेरिन्छ, त्यो हामी स्वीकार्छौं, किनभने म्यानेजमेण्ट सिस्टम राम्रो छैन । सार्वजनिक यातायात अहिले पनि व्यवस्थीति हुन सकेको छैन, तरपनि सुधारिकरणमा हामी लागि रहेका छौं । अर्को कुरा अहिले अध्यागमनले जुन सिस्टम लागू गर्न खोजेको छ, यो राम्रो छ ।’
यसैगरी, होटल एशोसिएशन नेपालका महासचिव साजन शाक्यले सरकारले लागू गर्न लागेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ जनवरी १ देखि कार्यान्वयन गर्न कठिन हुने बताउँदै थप समय आवश्यक पर्ने बताए । उनले स्टार होटलहरू पर्यटन विभागमा दर्ता भएकाले कार्यान्वयन सहज देखिए पनि सरकारी नीतिबारे पर्याप्त छलफल नपुगेको बताए । उनले भने- ‘ जनावरी १ देखि लागू गर्ने भनिएको छ स्टार होटलहरुमा । अब यो चाहीँ स्टार होटलहरुको पर्यटन विभागमा दर्ता नै छ, त्यो चाहीँ अलिकति सहज नै होला, अरु तिर लागू गर्न अलिकति होमवर्क गर्दा राम्रो होला । आउने आर्थिक श्रावण १ गतेबाट गर्दा उपयुक्त होला ।’
अध्यागमन विभागले यो नियम २०८२ पुस १७ गतेबाट उपत्यकाका तारे होटलहरुमा यसको पहिलो चरणको लागू गर्ने र २०८२ फाल्गुन १७ बाट देशभरका होटल, एयरलाइन्स, होमेस्टे, टे«किङ कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जर कम्पनी तथा अन्य सबै सेवा प्रदायकहरुमा यसको अनिवार्य लागू गर्ने बताएको छ ।
यस बिषयमा अध्यागमन विभागले बिहिबार प्रकासित गरेको सूचना यस प्रकार रहेको छ – ‘अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमन एवम् नेपाली नागरिकहरुको प्रस्थान र आगमनलाई व्यवस्थापन गर्नु
अध्यागमन प्रशासनको प्रमुख कार्य हो। अध्यागमन नियमन, यात्रुहरुको स्वतन्त्र र सुरक्षित आवागमन एवम् पर्यटन प्रबर्द्धनकाबीच कुशल संयोजन कायम गरी राष्ट्रिय सुरक्षा र सुशासन प्रबर्द्धन गर्ने दिशामा अध्यागमन विभागले कार्य गरिरहेको छ। मुलुकको अन्तराष्ट्रिय प्रतिष्ठा र
राष्ट्रिय सम्मानको अभिवृद्धि, पर्यटन प्रबर्द्धन र बैदेशिक लगानी प्रबर्द्धनका लागि मुलुकभित्र हुने सबै आवागमन र गतिविधिहरु राज्यको जानकारीमा रहनु पर्दछ।
नेपाल पक्ष राष्ट्र भएका धेरै अन्तराष्ट्रिय कानून र प्रबन्धहरुले सबै सदस्य राष्ट्रहरुलाई अध्यागमनसम्बन्धी अभिलेख व्यवस्थापन गर्ने दायित्व सिर्जना गरेका छन्। यस्ता अन्तर्राष्ट्रिय दायित्व र प्रतिबद्धताहरुप्रति पूर्ण प्रतिबद्धता प्रकट गर्दै विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign NationalsManagement Information System) को विकास गरेको छ। उक्त प्रणाली २०८२ असोज १ देखि लागू गर्ने गरी कार्य योजना तयार पारिएकोमा मुलुकमा विकसित पछिल्लो घटनाक्रमका कारण कार्यान्वयन हुन नसकेको हुँदा वि. सं. २०८२ पुष १७ (सन् २०२५ जनवरी १) देखि अनिवार्य रुपमा कार्यान्वयन गर्ने तयारी गरिएको छ।
यस प्रणालीको कार्यान्वयन मार्फत् नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुको बसाईं तथा उनीहरुको गतिबिधिसम्बन्धी व्यवस्थित अभिलेख राखे र आपतकालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको छ। यसका साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा सरोकारवाला अन्य निकायहरुबीच सूचना आदानप्रदानको प्रक्रियालाई सरल र प्रभावकारी बनाई पर्यटन क्षेत्रको सुरक्षित र व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ।
यस प्रणालीलाई पहिलो चरणमा वि. सं. २०८२ पुष १७ (सन् २०२६ जनवरी १) गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ। दोस्रो चरणमा वि. सं.२०८२ फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स
एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिनेछ । तसर्थः विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवम् निजी कम्पनीहरुलाई यस प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन अनुरोध गरिन्छ। उक्त प्रणालीमा दर्ता हुने प्रक्रिया र Manual यस विभागको वेभसाईट https://www.immigration.gov.np मा हेर्न सकिनेछ। यस सम्बन्धी थप जानकारी आवश्यक भएमा विभागको सूचना प्रविधि शाखा वा विभागका कम्प्युटर ईञ्जिनियर श्री सन्तोष कुमार शाह (मोबाईल नं ९७७ ९७६१४२३६३७) लाई सम्पर्क गर्न सकिनेछ ।
उक्त प्रणालीको कार्यान्वयन सम्बन्धमा अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिहरुलाई पत्राचार गरिसकिएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् नियमित रुपमा अनुगमन हुने व्यहोरा समेत जानकारी गराइएको छ।’
