गुगललाई ४० करोड ३० लाख युरो जरिवाना
काठमाडौँ । आयरल्यान्डको डेटा सुरक्षा निकायले गुगललाई आयरल्यान्डको डेटा संरक्षण आयोग (डीपीसी) ले लोकेसन डेटा प्रयोग गरेको विषयमा ४० करोड ३० लाख युरो जरिवाना गरेको छ । टेक कम्पनी गुगलविरुद्ध ६ वर्षअघि सुरु गरिएको अनुसन्धानपछि उक्त जरिवाना गरिएको हो । युरोपका विभिन्न उपभोक्ता अधिकारसम्बन्धी संस्थाले गुगलविरुद्ध उजुरी गरेका थिए ।
डीपीसीले सोमबार जारी गरेको विज्ञप्तिमा अनुसन्धानका क्रममा गुगलले डेटालाई ‘कानुनी’, ‘निष्पक्ष’ वा ‘पारदर्शी’ तरिकाले प्रयोग नगरेको पाइएको जनाएको छ ।
अनुसन्धान गुगलका तीनवटा सुविधामा लोकेसन डेटा प्रयोग गरिएको विषयमा केन्द्रित थियो । तीमध्ये वेब एन्ड एप एक्टिभिटी, लोकेसन हिस्ट्री र लोकेसन एक्युरेसी रहेका छन् । अनुसन्धानमा २५ मे २०१८ देखि ४ फेब्रुअरी २०२० सम्मको डेटा प्रयोगलाई समेटिएको थियो ।
लोकेसन डेटा भन्नाले कुनै व्यक्तिको भौगोलिक स्थान पत्ता लगाउन सकिने कुनै पनि प्रकारको डेटालाई जनाउँछ। डीपीसीका डेपुटी कमिस्नर ग्राहम डोयलले सोमबार जारी गरेको बयानमा लोकेसन डेटाबाट कुनै व्यक्तिबारे पर्याप्त जानकारी प्राप्त गर्न सकिने र त्यसमा अत्यन्तै निजी जानकारीसमेत हुन सक्ने बताएका छन् ।
रिपोर्टअनुसार गुगलले डेटा प्रयोग गर्ने क्रममा जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) को उल्लंघन गरेको पाइएको छ । जीडीपीआर युरोपेली संघको डेटा गोपनीयता तथा सुरक्षा सम्बन्धी कानुन हो, जुन २५ मे २०१८ देखि लागू भएको थियो ।
डोयलले भनेका छन्-, ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसनले सम्पूर्ण युरोपेली आर्थिक क्षेत्रमा मानिसको व्यक्तिगत डेटालाई व्यापक सुरक्षा प्रदान गर्छ। यसअन्तर्गत व्यक्तिगत डेटा कानुनी, निष्पक्ष र पारदर्शी तरिकाले प्रयोग गर्नुपर्छ ।’
यसैबीच, गुगलले एक विज्ञप्तिमार्फत यो विषय पुराना नीतिसँग सम्बन्धित रहेको र ती नीतिहरू अहिले अद्यावधिक भइसकेको जनाएको छ । गुगलले भनेको छ- ‘यो मामला अहिले अद्यावधिक भइसकेका पुराना नीतिसँग सम्बन्धित छ । सन् २०१९ यता हामीले आफ्ना प्रक्रियामा उल्लेखनीय परिवर्तन गरेका छौं र लोकेसन डेटा व्यवस्थापन गर्न सहज हुने थप प्रभावकारी उपकरणहरू पनि सुरु गरेका छौं ।’
गुगलले पछिल्ला वर्षमा डेटा सुरक्षालाई थप मजबुत बनाउन विभिन्न कदम चालिएको पनि जनाएको छ । त्यसमा ‘इन्डस्ट्री-फर्स्ट अटो-डिलिट कन्ट्रोल्स’ पनि रहेको कम्पनीको भनाइ छ । यस सुविधामार्फत प्रयोगकर्ताले आफ्नो खातामा डेटा प्रत्येक तीन, १८ वा ३६ महिनामा स्वतः मेटिने गरी सेट गर्न सक्छन् । कम्पनीका अनुसार व्यक्तिगत डेटाको सुरक्षा गर्न अन्य उपायसमेत लागू गरिएको छ । त्यसमध्ये ‘सिम्पल एड्स म्यानेजमेन्ट’ सुविधा पनि रहेको छ, जसबाट प्रयोगकर्ताले व्यक्तिगत रुचिका आधारमा देखाइने विज्ञापन पूर्ण रूपमा बन्द गर्न सक्छन् ।
गुगलले डेटा प्रयोगमा थप पारदर्शिता ल्याइएको दाबी पनि गरेको छ । यसअन्तर्गत लोकेसन डेटा प्रयोग र खाता सेटिङसँग सम्बन्धित विस्तृत जानकारी एउटै स्थानमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । – एजेन्सी
