पत्रकार महासंघद्वारा देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा

२०८३ आश्विन ३ गते, शनिबार


काठमाडौँ । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनसम्बन्धी संशोधित कार्यविधि तत्काल फिर्ता नभए असोज ५ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत पत्रपत्रिकाले प्राप्त गर्दै आएको विज्ञापनबापतको रकममा ठूलो कटौती गरिएको भन्दै सो कार्यविधि तत्काल फिर्ता नभए असोज ५ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार शुक्रबार सरोकारवालासहित बसेको बैठकले माग सम्बोधन नभए असोज ५ गते सोमबारदेखि विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
महासंघले उक्त कार्यविधि खारेज गर्न यसअघि नै सूचना तथा सञ्चारमन्त्रीसमक्ष माग राखेको थियो। साथै, समस्या समाधान नभएसम्म लोककल्याणकारी विज्ञापनबापतको बिल भुक्तानी प्रक्रिया अघि नबढाउन विज्ञापन बोर्डलाई समेत पत्राचार गरिएको जनाएको छ।
महालेखापरीक्षकको कार्यालयले लोककल्याणकारी विज्ञापनसम्बन्धी खर्चमा बेरुजु नदेखाएको तथा प्रेस काउन्सिल नेपालले विज्ञापन रकमको पुनरावलोकन र वृद्धिका सम्बन्धमा गरेको सिफारिसलाई आधार बनाएर समस्या समाधान गर्न महासंघले शुक्रबार पुनः मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
महासंघले वार्ता र संवादमार्फत समस्या समाधान हुने अपेक्षा व्यक्त गरेको छ। तर माग सम्बोधन नभए पहिलो चरणमा देशभरका शाखा, प्रतिष्ठान तथा सम्बद्ध संघसंस्थाको सहभागितामा आन्दोलनका कार्यक्रम सञ्चालन गरिने जनाएको छ।
पत्रकार महासंघले संशोधित कार्यविधिले छापामाध्यमको आर्थिक अवस्था थप कमजोर बनाउने दाबी गर्दै निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]