जेन-जी आन्दोलनपछि देश गलत दिशातर्फ गइरहेको ७० प्रतिशत नागरिकको ठम्याई

२०८३ आश्विन २१ गते, बुधबार


काठमाडौँ । ‘जेनजी’ आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमपछि देश गलत दिशातर्फ गइरहेको ठान्ने नेपाली नागरिकको सङ्ख्या ७० प्रतिशत पुगेको छ । काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्ट्सले सार्वजनिक गरेको ‘नेपाली जनमत सर्वेक्षण, २०२५’ को प्रतिवेदनले आन्दोलनपछि मुलुकको भविष्यप्रति जनस्तरमा निराशा थप गहिरिएको देखाएको हो । आन्दोलनअघि गरिएको सर्वेक्षणमा ६१.८ प्रतिशतले देश गलत दिशामा गइरहेको बताएका थिए भने आन्दोलनपछिको ‘फलो–अप’ सर्वेक्षणमा उक्त सङ्ख्या बढेर ७० प्रतिशत पुगेको छ ।
करिब १७ प्रतिशत नागरिकले मात्रै जेन–जी विद्रोहपछि देश सकारात्मक दिशामा रहेको बताइरहेका छन् । सर्वेक्षणमा देशले लिएको दिशा नकारात्मक भन्नेहरू ७० प्रतिशतसम्म देखिएको छ । देशले लिएको बाटो सकारात्मक कि नकारात्मक भन्ने प्रश्नमा जेन–जी आन्दोलनपूर्वको सकारात्मक भन्ने जनमत २३.७ रहेकोमा त्यसपश्चातको जनमत झन् नकारात्मक देखिएको छ । अर्थात् सरकारात्मक दिशामा गइरहेको छ भन्नेहरू मात्र १७.५ प्रतिशत रहेको पाइएको छ ।
देशले लिएको दिशा उस्तै छ भन्नेहरू २३ भदौअघिको भन्दा घटेको तर नकारात्मक छ भन्नेहरू ६१.६ बाट बढेर ७० प्रतिशत पुगेको अवस्था देखिएको छ । विश्वविद्यालयको यो सर्वे पाँचौँ श्रृंखला हो ।
देशले लिएको बाटो सकारात्मक या नकारात्मक भन्ने प्रश्न सन् २०१७ देखिकै प्रमुख प्रश्न रहेको यस सर्वेक्षणमा २०१७ मा सकारात्मक भन्नेहरू ५२.९, २०१८ मा ५१.४, २०२० मा ६५.६ अर्थात् बहुमत रहेकामा २०२२ मा घटेर ४१.७ देखिएको थियो ।
२३ भदौअघि देशमा भौतिक संरचनाको अवस्था सकारात्मकतातर्फ छ भन्नेहरू ५३.९ प्रतिशत रहेको थियो । जेन–जी विद्रोहपछि त्यो संख्या एकाएक झण्डै आधा अर्थात् २७.६ मा आएको थियो । त्यस्तै देशको आर्थिक अवस्थाको बारेमा सकारात्मक देखिनेहरू २३ भदौसम्म १६.३ रहेकोमा विद्रोहपछि आधाभन्दा बढी घटेर ६.८ मा पुगेको देखिएको छ ।
देशको आर्थिक अवस्था सकारात्मक देख्नेको यो जनमत २०२२ मा ३१.३ थियो भने २०२० मा ५६ प्रतिशत रहेको थियो । यो तथ्यांकको विपरीत स्थानीय वा समुदायको स्तरमा आर्थिक स्तर कस्तो छ भन्दा ६१.१ ले उस्तै रहेको र राम्रो हुँदै भन्नेहरू २०.७ रहेको देखिएको छ ।
त्यस्तै गतवर्ष घरायसी आम्दानीमा राम्रो सुधार भन्नेहरू ६८.७ छन्, जसमध्ये ४० हजारमाथि आम्दानी हुनेहरू १९.७ बाट बढेर ३२.२, २० देखि ४० को बीच भन्नेहरू ३१.२ बाट ३८.९, १० हजारदेखि २० हजार भन्ने ३३.९ बाट घटेर १८.३ अनि १० हजारभन्दा कम आम्दानी भन्ने १३.७ बाट घटेर ८.६ मा पुगेको देखिन्छ ।
सकारात्मक दिशामा देश छ भन्नेहरूले सुझाउने महत्त्वपूर्ण सूचक यसअघिकै बाटोघाटोमा सुधार नै प्रमुख देखिए पनि त्यसो भन्नेहरू ७३.३ बाट घटेर ३९.८ मा आएको छ भने युवाको राजनीतिक सहभागिता बढेका कारण भन्नेहरू ३८.१ पुगेको पाइन्छ । नकारात्मक उत्तर दिनेमध्ये ६३.४ ले भ्रष्टाचार अनि ५४.५ ले गुजारा चलाउन र जागिर पाउन गाह्राे भएको, ४०.५ प्रतिशतले समग्र देशको आर्थिक अवस्था कमजोर भएको अनि ३२.९ प्रतिशतले आकाशिँदो मूल्यवृद्धिलाई कारणका रूपमा सुझाएका छन् ।
यस सर्वेक्षण श्रृंखलाको विगतले सधैँ बहुमत सकारात्मक देखाएको तथ्य स्थानीय सरकारका बारेको थियो । २०१८ मा २०१७ को ५५.९ बाट बढेर ६२.८ अनि २०२० मा ७८.५ पुगेको थियो भने सकारात्मक मत २३ भदौसम्म आँउदा देखिएको ५४.४ प्रतिशत अनि जेन–जी विद्राेहपश्चातको सर्वेमा त झन् घटेर ४४.३ प्रतिशतमा आइपुगेको छ । सर्वेक्षण बुधबार दिउँसो सार्वजनिक हुँदै छ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ आट्र्सको समग्र नेतृत्वमा र इन्टरडिस्प्लिनरी एनालिस्टस् (आईडीए) र दि एसिया फाउन्डेसन (द फाउन्डेसन) को सहकार्यमा नेपालका सात प्रदेशका ७२ देखि ७५ जिल्लामा काठमाडाैं विश्वविद्यालयको अगुवाइमा सन् २०१८ देखि लगातार गर्दै आइरहेको नेपाली जनमत सर्वेक्षणकोे पाँचौँ श्रृखला अगष्ट २०२५ देखि देशव्यापी रूपमा सुरु गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]