प्रधानमन्त्रीको सचिवालय : कर्मचारीको तलब भत्तामा मात्रै १ करोड ३६ लाख ३८ हजार ६२४ रुपैयाँ खर्च

२०८३ आश्विन १६ गते, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन्द्र) को निजी सचिवालयमा २५ जना सल्लाहकार, स्वकीय सचिव, विज्ञ तथा कर्मचारी कार्यरत रहेका छन् । कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको विवरणमा ३ जना सल्लाहकारले मन्त्रीसरहको सुविधा प्राप्त गर्ने उल्लेख छ । सचिवालयमा रहेका २ जनाको सेवा सुविधा राज्यमन्त्री सरह रहेको छ । सचिवालयमा रहेका एकजनाको सेवा सुविधा विशिष्ट श्रेणी सरह, ५ जना राजपत्रांकित प्रथम श्रेणी सरहका सदस्य रहेका छन् । कार्यालयको विवरणमा ५ जना द्वितीय श्रेणी, ४ जना तृतप्खय र ५ जना सहायक स्तरका कर्मचारी नियुक्त गरिएको छ । उनीहरूको मासिक तलब तथा भत्तामा राज्यकोषबाट मासिक ११ लाख ३६ हजार ५५२ रुपैयाँ खर्च हुने देखिन्छ ।
सचिवालयले उपलब्ध गराएको विवरणअनुसार तीन जना सल्लाहकारले मन्त्रीसरह र दुई जनाले राज्यमन्त्रीसरहको सुविधा पाएका छन् । मन्त्रीसरह सुविधा पाउनेमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र प्रा. डा. जगदीशप्रसाद अग्रवाल छन् । सार्वजनिक गरीएको विवरणमा व्यन्जनकार र अग्रवालमात्रै अवैतनिक रहेका छन् । त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्रीसरहको सेवा–सुविधा पाएका छन् ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मालाई भने राजपत्रांकित विशिष्ट श्रेणीसरहको सेवा–सुविधा उपलब्ध गराइएको छ । सचिवालयका पाँच जनाले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवसरहको सुविधा पाएका छन् । यसमा स्वकीय सचिव नवीन भण्डारी, स्वकीय सहसचिव विकास परियोजना सञ्जीव पाण्डे, स्वकीय सहसचिव प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र सामाजिक विकास विज्ञ विश्व राई रहेका छन् ।
त्यसैगरी, पाँच जनालाई राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवसरहको सुविधा दिइएको छ । स्वकीय उपसचिव प्रकृति ढकाल, स्वकीय उपसचिव विशाल अधिकारी, सहायक विज्ञ नागरिक उड्डयन सुमन गौतम, सहायक विज्ञ भाषा तथा मस्यौदा रवि किरण अधिकारी र स्वकीय उपसचिव विनय शाक्यले यस्तो सुविधा पाएका हुन् ।
चार जनाले राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृतसरहको सेवा–सुविधा पाउने विवरणमा उल्लेख छ । उनीहरूमा स्वकीय शाखा अधिकृत प्रेस सहजकर्ता सुरेन्द्र बजगाई, स्वकीय शाखा अधिकृत ग्राफिक्स डिजाइनर रोशन तामाङ, स्वकीय शाखा अधिकृत वेदानन्द जोशी र अनुसन्धान अधिकृत हेम नारायणदास चौधरी छन् ।
सचिवालयका थप पाँच जनालाई राजपत्रअंकित प्रथम श्रेणीसरहको सुविधा उपलब्ध गराइएको छ । प्रशासन सहायक अनुप थापा मगर, प्रशासन सहायक ऋषि थापा, कम्प्युटर सहायक भिडियो ग्राफर अमृत पाण्डे, प्रशासन सहायक राजकुमार गौतम र प्रशासन सहायक बेनिस कार्की उक्त समूहमा रहेका छन् । यसरी प्रधानमन्त्रीको निजी सचिवालयमा मन्त्री तथा राज्यमन्त्रीसरहको सुविधा पाउने सल्लाहकारदेखि शाखा अधिकृत र प्रशासन सहायकसरहको सुविधा पाउने कर्मचारीसम्मको संरचना बनाइएको पाइएको छ ।
हालै सरकारले सार्वजनिक गरेको तलवमान अनुसार मन्त्रीहरूको पारिश्रमिक, महँगी भत्तासहित सञ्चार र मसलन्द खर्च ७९ हजार २३० रुपैयाँ रहेको छ । राज्यमन्त्रीको ७५ हजार ३० रुपैयाँ र सचिवको ७९ हजार २९० रुपैयाँ रहेको छ ।
यसैगरी, सहसचिव र उपसचिवको तलबमान क्रमश : ६२ हजार ४६६ र ५२ हजार २७९ रुपैयाँ रहेको छ । सरकारी तलबमान अनुसार शाखा अधिकृतको ४८ हजार ५८ रुपैयाँ र नायव सुब्बाको ३८ हजार २०३ रुपैयाँ रहेको छ ।
सचिवालयको विवरणअनुसार यी २३ जनाको मासिक तलब तथा भत्तामा ११ लाख ३६ हजार ५५२ रुपैयाँ खर्च हुन्छ । यही दरलाई वार्षिक हिसाब गर्दा तलब तथा भत्तामा मात्रै राज्यकोषबाट करिब १ करोड ३६ लाख ३८ हजार ६२४ रुपैयाँ खर्च हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु