नेकपा (माओवादी) द्वारा जनसंघर्षमा उत्रने उद्घोष

२०८३ आश्विन १३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले जनसंघर्षमा उत्रने उद्घोष गरेको छ। सो पार्टीको हालै सम्पन्न नवौँ केन्द्रिय समितिको संगठन अधिवेशन आयोजक समितिको सचिवालयको विस्तारित बैठकले देशको वर्तमान राजनीतिक संकटको निकास जनसंघर्ष मात्रै भएको निष्कर्ष निकाल्दै छिट्टै जनसंघर्षमा उत्रने निर्णय गरेको बताइएको छ ।
उक्त बैठकले देशको पछिल्लो परिस्थितिको सभावना र चुनौतीलाई दृष्टिगत गर्दै सम्भावनालाई वास्तविकतामा बदल्न र चुनौतीको कडाई पूर्वक सामना गर्न जनसंघर्ष आगामी निर्विकल्प हतियार बनेको निष्कर्ष निकालेको छ ।
उक्त बैठकले राष्ट्रको स्वाधिनता एवम् पहिचान झन् पछि झन् डरलाग्दो खतरामा पर्दै गएको, नेपाली श्रमिक जनताले प्राप्त गरेका सीमित अधिकारहरु बालेन सरकारका कारण एकपछि अर्को गर्दै खोसिदै गइरहेको, देशको अग्रगामी परिवर्तन र नेपाली जनताको समाजवादी व्यवस्था प्राप्तिको जनक्रान्तिको यात्रामा नवदलाल पूँजीवाद र अमेरिकी साम्राज्यवादले भयानक अवरोध खडा गर्ने धृष्टता गरी राखेको निष्कर्ष निकालेको बताइएको छ ।
यसैगरी, उक्त बैठकले जनजीविका डरलाग्दो ठाउँमा पुगेको र बेलगाम महँगी वृद्धिको दुस्चक्रमा नेपाली जनता फस्दै गएको निष्कर्ष समेत निकालेको बताइएको छ ।
उक्त बैठकले देश र जनतालाई अमेरिकी साम्राज्यवादी हस्तक्षेप र नवदलाल पूँजीवादी बालेन सरकारको चंगुलबाट मुक्त गर्न क्रान्तिकारी माओवादी, वामपन्थी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्ति एकसाथ पहल गर्न तयार हुनु पर्ने वर्तमान आवश्यकता रहेको निष्कर्ष निकालेको बताइएको छ ।
यसैगरी, उक्त बैठकले परिस्थितिको अनुकुलता र नयाँ सम्भावनाको निर्णायक ढोका खुल्दै गएको विश्लेषण गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले देशको विशिष्ट परिस्थितिमा ऐतिहासिक पहल लिनुपर्ने बस्तुगत आवश्यकता र जनचाहना रहेको समेत निष्कर्ष निकालेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]