जनयुद्धका सैन्य कमाण्डर तथा शहिद योद्धाको संक्षिप्त जिवनी

२०८३ आश्विन १२ गते, सोमबार
  • -नरेन्द्र सी
    नाम अनुसारकै काम गर्न र‌ सैन्य कौशलता प्रस्तुत गर्न ‌सफल योद्धा नेपाली जनयुद्धको एक कुशल तथा होनाहार सैन्य कमान्डरको नाम हो । २०३३ साल फागुन १४ गते बुबा पहले विश्वकर्मा र आमा भ्यार्की विश्वकर्माको कोखबाट कालिकोट जिल्ला माल्कोट गाविस वडा नं ४ सल्लारूखमा योद्धाको जन्म भएको हो । बाल्यकाल आमाबुबाको न्यानो मायामा हुर्के पनि एक गरिब किसान परिवारमा जन्मेका योद्धा सानै उमेरदेखि उत्पीडन, गरिबी र अभावबाट गुज्रनुपर्यो । दुई दाजु र दुई बहिनीको साइँलो भाइ योद्धा शैक्षिक रूपले प्रावि तहको पढाइ आफ्नै गाउँ सेरापाटा र मावि तहको अध्ययन नन्दादेवी मावि कोटबाजामा गर्नुभयो । युद्धमा झैँ अध्ययनमा तीक्ष्ण क. योद्धा मिहिनेती पनि हुनुहुन्थ्यो । उहाँ अत्यन्त विद्रोही र मिलनसार स्वभावको हुनुहुन्थ्यो । खेलकुद र साहित्यमा रूचि राख्ने योद्धाले विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरूआत गर्नुभयो । “हुने बिरुवाको चिल्लो पात’ भने झैँ पूर्णकालीन अवधि पूर्व नै योद्धाले क्रान्तिको लागि अमूल्य योगदान दिनुभयो ।
    २०४७ सालबाट जनमोर्चामा आवद्ध योद्धा विस २०४९ तिर नेकपा ( मशाल) समर्थित अखिलको शान्ति मावि कोटवाडाको एकाइ समितिमा संगठित हुनुभयो । त्यतिबेलाको चर्चित कोटबाडा (‘झा’ काण्ड जुन काण्डमा काङ्ग्रेसी शिक्षक रमेश झाको व्यभिचार, अनियमितता र काङ्ग्रेसीकरणका विरूद्ध लडाकु दलका सदस्य विद्यार्थीले जनकारवाही गरेका थिए) मा सहभागी भएकोले उहाँ हिरासत पर्नुभयो। त्यसपछि योद्धा २०५१ मा वाइसिएल जिल्ला समिति सदस्य, २०५२ मा जनयुद्ध थालनी पश्चात पार्टी सदस्य र एरिया समिति सदस्य हुँदै २०५३ मा शक्ति केन्द्रीकरण अभियानमा जाजरकोट जिल्लामा गएर जनयुद्धको सैन्य तयारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।


२०५४ मा जिल्लामा फर्केर २०५५ असारको किलो शेरा टु (Kilo Sera-2) अप्रेसनमा योद्धा पूर्णकालीन भएर पार्टी र क्रान्तिको लागि लाग्नुभयो । विस २०५५ मै २ नं छापामार दल सहकमान्डर, २०५६ मा स्क्वायड कमान्डर, २०५६ मै योद्धा पश्चिममा बनेको पहिलो सैन्य फर्मेसन ४ नं प्लाटुनको सेक्सन कमान्डर र पार्टी युनिट सेक्रेटरी, २०५७ चैतमा १२ नं प्लाटुन कमान्डर भई जुम्लामा कार्यरत रहनुभयो । पुनः २०५८ मै जनमुक्ति सेनाको पहिलो राष्ट्रिय भेला पश्चात कालिकोटको १ नं प्लाटुन कमान्डर भई आफ्नो भूमिका सुनिश्चित गर्नुभयो । २०५८ कात्तिकमा कम्पनी सहकमान्डर, २०५९ जेठमा कम्पनी कमान्डर, २०५९ पुसमा बटालियन सह-कमाण्डर, २०६० असारमा बटालियन कमान्डर, २०६० असोजमा सतबरिया दोस्रो बिग्रेड सह-कमाण्डर तथा सैन्य ब्युरो सदस्य र भेरि कर्णाली स्वायत्त जनसरकारमा सैन्य प्रतिनिधि हुनुहुन्थ्यो । योद्धा आफ्नो राजनीतिक जीवनको छोटै अवधिमा आफुलाई एक जाज्वल्यमान सैन्य कमान्डरको रूपमा उभ्याउन सफल हुनुभयो ।

ग्रामीण वर्ग सङ्घर्षको सुरूआत र विकास, वर्ग शत्रु सफाया र सेभोटेज लगायत थुपै फौजी कार्बाहीमा सहभागी योद्धा फौजी रूपले युद्धका दर्जनौं रेड, एम्बुस र भिडन्तमा कुशलतापूर्वक आफ्नो भूमिका पुरा गर्नुभयो । उहांले कालिकोटको सान्नीघाट प्रहरी चोकि कब्जा (२०५६), पादमघाट र कोटबाडा प्रहरी चौकी, अछाम विनायक चौकी, डोल्पाको सदरमुकाम दुनै, जाजरकोटको पाँचकाटिया चौकी, दैलेख नौमुले ईप्रका, दाङ जिल्ला सदरमुकाम घोराही, अछाम साँफेबगर जिल्ला प्रहरी कार्यालय, रोल्पाको लिस्नेगाम शाही सेना व्यारेक, रूकुमको खारा, बाजुराको पाण्डुसेन, बाँकेको कुसुम, जुम्ला रारालिही, सल्यान कपुरकोट, सल्यान दामाचौर, अर्घाखाँचीको सन्धिखर्क, जुम्ला सदरमुकाम खलङ्गा लगायतका फौजी कार्बाहीमा कहिले कमान्डिङ त कहिले एसाल्टको भूमिका निर्वाह गर्दै अन्ततः २०६० चैत ७ गते म्याग्दीको सदरमुकाम बेनी रेड नै योद्धाको अन्तिम रेड बन्यो । लडाइँको अग्रमोर्चामा रहेर कमान्ड गरिरहेका क. योद्धालाई छातीमा गोली लाग्यो र उहाँले उच्च सहादत प्राप्त गर्नुभयो । यसरी योद्धा भौतिक रूपले हामीबाट २७ बर्षको उमेरमा सदाको लागि बिदा हुनुभयो र सगरमाथा भन्दा उच्च मृत्युवरण गर्नुभयो ।

-लेखक : नरेन्द्र सी अखिल (समाजवादी)का केन्द्रिय अध्यक्ष हुन्।

प्रतिक्रियाहरु

[anycomment]