देउवा पक्षद्वारा महाधिवेशन उम्मेदवार शुल्क निर्धारण

२०८३ आश्विन १२ गते, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ। केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडा तहसम्मका विभिन्न कार्यसमितिमा उम्मेदवार बन्ने आकांक्षीका लागि मनोनयन शुल्क तोकिएको छ ।
निर्देशिकामा केन्द्रीय कार्यसमिति सभापतिको निर्वाचनका लागि ३० हजार, केन्द्रीय उपसभापति र महामन्त्रीको निर्वाचनका लागि २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै सहमहामन्त्रीका आकांक्षीका लागि २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।
केन्द्रीय कार्यसमिति चयनका लागि मतदाता मानिने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूका लागि दुई हजार पाँच सय रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको निर्देशिकामा उल्लेख छ ।
महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित हुन केन्द्रीय महासमिति सदस्य पदका आकांक्षीका लागि तीन हजार रुपैयाँ मनोनयन शुल्क तय गरिएको छ । यस्तै प्रदेशसभा क्षेत्रीय प्रतिनिधि पदको निर्वाचनका लागि पाँच सय र प्रदेश महाधिवेशन प्रतिनिधि पदको निर्वाचनको लागि एक हजार रुपैयाँ शुल्क राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]