चिनियाँ राष्ट्रपतिको अमेरिका भ्रमणका संकेतहरु
छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले गतसाता बुधबारबाट जसरी अमेरिकाको तीनदिने राजकीय भ्रमण गर्नुभयो, त्यो यतिबेला विश्वभर नै विशेष चर्चामा रहेको देखिएको छ । अमेरिकाकै न्युयोर्कमा राष्ट्रसंघको महासभाको बैठक चलिरहेकै बेला उहाँ त्यसतर्फ नभई वाशिंटन पुग्नु र विश्व राजनीतिकाबारेमा नभई ब्यापारका बारेमामात्र केन्द्रित रहेर छलफल गर्नु आफैमा पनि रहस्यको विषय छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर सी र उहाँकी पत्नी पेङ लियुआनलाई स्वागत गर्नुभएको थियो । रेड कार्पेट र सैन्य फ्लाईओभरसहित सीलाई ट्रम्पले गरेको भव्य स्वागत चीन र अमेरिकामा मात्र नभएर विश्वभर चर्चाको विषय भएको थियो । वाशिंटनको स्थानीय समयअनुसार गत बुधबार साँझ जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा सीको स्वागतका लागि संक्षिप्त समारोह नै आयोजना गरिएको थियो । स्वागत समारोहमा ट्रम्प र सीले हात मिलाएपछि दुवै नेता एकसाथ वाशिंटन डीसीतर्फ प्रस्थान गर्नुभएको थियो । ट्रम्प स्वयंले नै सीलाई गाडीसम्म पु¥याउनु र त्यसक्रममा नेताद्वयका बीचमा संक्षिप्त वार्तासमेत हुनु अर्को चर्चालायक विषय बनेको थियो । सीको स्वागतमा गरिएको अमेरिकाको त्यस्तो भव्य तयारीले ट्रम्पले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई उच्च महत्व दिएको स्पष्ट थियो । तीनदिने भ्रमणकाक्रममा ट्रम्प र सीबीच औपचारिक भेटवार्ता, बन्दसत्र बैठक तथा राजकीय भोजलगायतका कार्यक्रमहरु भएका थिए । नेताद्वयका बीचमा व्यापार, एआई, दुर्लभ खनिज, ताइवान र सुरक्षालगायतका विषयमा वार्ता भएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । जसकाबारेमा विस्तृत विवरण भने सार्वजनिक भैनसकेको अवस्था छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ ११ वर्षको लामो अन्तरालपछि औपचारिक राज्यभ्रमणका क्रममा अमेरिका पुग्नुभएको थियो । राष्ट्रपति सीको सो भ्रमण सन् २०१५ पछि पहिलो ह्वाइट हाउस भ्रमण थियो । भ्रमणको मुख्य कार्यक्रमअनुसार ह्वाइट हाउसको इष्ट रुममा राजकीय भोज गरिएको थियो ।
उक्त डिनरमा अमेरिकी प्रविधि तथा व्यापार क्षेत्रका शीर्ष उद्योगपतिहरु इलोन मस्क, सुन्दर पिचाई, सत्य नाडेला, साम अल्टम्यान, टिम कुक र जेन्सन ह्वाङलगायतको समेत उपस्थिति थियो । बिगत केही महिनायता दुई देशबीच जारी व्यापारिक तनाव कम गर्ने प्रयास भइरहेको पृष्ठभूमिमा सो भ्रमण भएको थियो । नेताद्वयबीचको वार्ताले वर्षौंदेखि जेलिएर रहेका कतिपय जटिल कूटनीतिक र प्रविधि प्रतिश्पर्धाका मुद्धाहरुमा रणनीतिक स्थिरता ल्याउन मद्धत गर्ने अपेक्षा गरिएको थियो । घटनाक्रमहरुलाई हेर्दा वार्तापछि खासै ठूलो नीतिगत सम्झौता हुनसकेको देखिएको छैन । सो भ्रमणले बेइजिङसँग सम्बन्ध सुधारमा अमेरिका लालायित रहेको देखाएको छ । भ्रमणकाक्रममा दुवै पक्षले आ–आफ्ना प्राथमिकता र रणनीतिक चासो प्रस्तुत गर्नु स्वाभाविकै हो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीन आउँदो नोभेम्बरमा सकिने व्यापार सम्झौतालाई जनवरी १० तारिखसम्म लम्ब्याउन सहमत भएको बताएर दुबै देशलाई ब्यापारिक सम्बन्ध सुधारमा चट्टारो परेको संकेत गर्नुभएको छ । चिनियाँ उपप्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएका बेसेन्टले दुई देशबीच अझ ठोस व्यापार सम्झौता हुनसक्ने वा नसक्ने विषयमा पनि छलफल जानकारी सार्वजनिक गर्नुभएको छ । यसअघि अमेरिका र चीनबीच व्यापार युद्ध चर्किदा विश्वको अर्थतन्त्रमा पर्नसक्ने असरबारे पनि विभिन्न आंकलनहरु भएका थिए । ट्रम्पले चिनियाँ सामानको आयातमा १०० प्रतिशतभन्दा बढी कर लगाउने चेतावनी दिएसँगै दुई देशबीच पूर्ण स्तरको व्यापार युद्ध शुरुभएको ठानिएको थियो । चीनले अमेरिकासँग नझुक्ने र अन्तिमसम्म लड्ने दृढतासमेत जनाएको थियो ।
त्यससँगै चीनले पनि अमेरिकी निर्णयको जबाफस्वरुप अमेरिकी सामानको आयातमा कड्याइ गरेका समाचारहरु बाहिर आएका थिए । ट्रम्पले यसअघि आपूm पहिलो पटक राष्ट्रपति हुँदा पनि चीनबाट आयात हुने सामानमा उल्लेख्य कर लगाएर बिवादको सिर्जना गरेको देखिएको थियो । पछि जो बाइडनले पनि त्यो कर नहटाएर थप बढाएको पाइन्थ्यो । यिनै खिचातानीले गर्दा सन् २०१६ मा कूल अमेरिकी आयातको १६ प्रतिशत हिस्सा ओगटेको चिनियाँ आयात गत वर्ष सन् २०२५ मा १३ प्रतिशतमा झरेको थियो । यता अमेरिकामा हुने चिनियाँ निर्यात घटेको देखिएपनि दक्षिणपूर्वी एशियाली देशहरुबाट चोरबाटो हुँदै चिनियाँ सामान अमेरिका पुग्नेक्रम कायमै थियो । अन्तराष्ट्रिय सञ्चार माध्यम मार्फत सार्वजनिक तथ्यांक विवरणहरु अनुसार सन् २०१८ मा तत्कालीन ट्रम्प प्रशासनले चीनबाट आयात हुने सौर्य ऊर्जाका प्यानलहरुमा ३० प्रतिशत कर लगाएको थियो तर अमेरिकी कर छल्न चिनियाँ सौर्य प्यानल निर्माता कम्पनीहरु मलेशिया, थाइल्यान्ड, कम्बोडिया र भियतनाममा आफ्ना कारखानाहरु स्थानान्तरण गरेर त्यहाँबाट तयारी सामान अमेरिका पठाएको प्रमाण अमेरिकी वाणिज्य मन्त्रालयले सन् २०२३ मा सार्वजनिक गरेको थियो । चीनबाट अमेरिका निर्यात हुने सामग्रीहरुमा सबैभन्दा ठूलो परिमाण विद्युतीय उपकरण, कम्प्युटर र खेलौनाहरु रहने गरेका छन् । विद्युतीय सवारी साधनका लागि अत्यावश्यक ब्याट्रीहरु पनि ठूलो मात्रामा चीनबाट अमेरिका निर्यात हुनेगरेका छन् । अमेरिकाले चीनबाट सबैभन्दा ठूलो परिमाणमा आयात गर्ने सामान स्मार्टफोन रहेको तथ्यांक छ । जसले कुल आयातको ९ प्रतिशत भाग ओगटेको देखिएको छ । भनिन्छ अमेरिकी बहुराष्ट्रिय कम्पनी एपलका स्मार्टफोनहरु समेत ठूलो परिमाणमा चीनमै तयार हुन्छन् । अमेरिकाले चिनियाँ आयातमा लगाएको करको असर एपलको शेयरमा पनि देखिएको छ । ट्रम्प प्रशासनले बेइजिङका लागि लगाएको चर्को करको असर अमेरिकी बजारमै देखिन थालेको थियो । करबाहेक पनि दुई देशको व्यापारमा असरगर्ने अन्य तत्वहरु पनि रहेका छन् । तामा, लिथियम र रेअर अर्थ धातुजस्ता उद्योगहरुका लागि चाहिने महत्वपूर्ण पदार्थको प्रशोधनमा चीनको केन्द्रीय भूमिका रहने गरेको पाइन्छ ।
भनिन्छ त्यस्ता धातुहरु अमेरिका जाने बाटोमा चीनले विभिन्न किसिका अवरोध सिर्जना गर्न सक्ने सम्भावनाहरु पनि रहेका छन् । सेनाले थर्मल इमेजिङ र राडारमा प्रयोग गर्ने जर्मेनियम र ग्यालियम दुई धातुमा चीनले सो कदम चालिसकेको कतिपयको भनाइ पनि बाहिर आएको अवस्था छ । नेताद्वयको हालैको वार्ता अघि अमेरिकाले चीनमाथि आर्टिफिशल इन्टेलिजन्सजस्ता प्रविधिका लागि अत्यावश्यक अत्याधुनिक माइक्रोचिप्सहरुमा प्राविधिक नाकाबन्दी लगाउन सक्ने कुराहरु पनि उठाइएका थिए । भनिन्छ त्यस्ता उपकरण चीनलेसमेत हालसम्म पनि आफैँ उत्पादनगर्न सकेको छैन । अमेरिका र चीन दुवै देशले विश्व अर्थतन्त्रको ठूलो भाग ओगटेको कुरामा दुइमतगर्ने ठाउँ छैन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का कतिपय तथ्यांकहरुले दुवै देशको ब्यापार अंकलाई जोड्दा त्यो विश्व अर्थतन्त्रको ४३ प्रतिशत हुने उल्लेख पनि गरेका छन् । यस्तो अवस्थामा चीन र अमेरिकाका बीचमा सहमति कायम नभई पूर्णस्तरको व्यापार युद्ध भएमा विश्व आर्थिक मन्दी आउन सक्ने खतरा पनि रहेको छ । उनीहरुको अस्वस्थ्य प्रतिश्पर्धाले अन्य देशको अर्थतन्त्रलाई पनि असर गर्ने पछिल्ला कतिपय घटनाक्रमहरुले स्पष्ट गरेका छन् । चीनलाई विश्वकै सबैभन्दा ठूलो उत्पादक देश मानिन्छ ।
जसले आफ्नो देशमा खपत हुनेभन्दा धेरै ठूलो परिमाणमा विभिन्न सामानहरु उत्पादन गर्दै पनि आएको छ र कूल आयातको तुलनामा एक खर्ब अमेरिकी डलर बढीको सामान निर्यात गरिरहेको पाइन्छ । चीनमा राज्यलेनै निश्चित कम्पनीहरुलाई सस्तो ब्याज दरमा ऋण र आन्तरिक अनुदानसमेत दिने गरेकाले त्यहाँ उत्पादन हुने सामग्रीहरु तुलनात्मकरुपमा सस्तो हुनेगरेका छन् । यसरी चीन अमेरिकाका लागि कुटनीति सम्बन्ध गाँसिएको देशमात्रै नभएर अर्थतन्त्रदेखि प्रविधि र सुरक्षासम्मका कुराहरुमा अन्तरसम्बन्धित रहेका छन् । सन् २०२५ मामात्रै अमेरिका र चीनकाबीचमा वस्तु तथा सेवाको कूल व्यापार करिव ४९४.६ अर्ब डलर रहेको पाइन्छ । जससमध्ये अमेरिकी वस्तु आयात चीनबाट ३०८.७ अर्ब डलर र चीनतर्फ अमेरिकी निर्यात १०६ अर्ब डलर रहेको देखिएको छ । त्यसैले पनि अमेरिकी अधिकारीहरुले आपसी भ्रमणका क्रममा व्यापार, दुर्लभ खनिज र एआईलाई प्रमुख विषयका रुपमा उठाउने गरेका हुन् । यसरी यसपटक अमेरिकाले चिनियाँ राष्ट्रपति सीलाई गरेको भव्य स्वागतलाई दुई देशबीचको तनाव समाप्त भएको संकेतभन्दा प्रतिस्पर्धाबीच सम्वादको ढोका खुल्ला राख्ने अमेरिकी प्रयासकारुपमा लिनु उचित हुने देखिएको छ ।
नेताद्वयको वार्ताको मुख्य निष्कर्षलाई सम्झौताको अन्तिम समाधानभन्दा तनाव व्यवस्थापनतर्फको कदम भनेर बुझ्न सकिन्छ । दुई देशले व्यापार युद्धविरामलाई थप दुई महिनाका लागि बढाएका छन् । यसले तत्काल थप ट्यारिफ युद्धको जोखिम घटाएको छ । तर दीर्घकालीन व्यापार सम्झौता अझै भएको छैन । ट्यारिफ, चीनबाट अमेरिकी कृषि तथा अन्य वस्तुको खरिद, दुर्लभ खनिजको आपूर्ति र उच्च प्रविधिमाथिका अमेरिकी प्रतिबन्धजस्ता विषयमा अन्तिम समाधान पनि भएको छैन । दुवै पक्षले एआईसम्बन्धी संवाद अघिबढाउने र गम्भीर एआई सुरक्षा घटनाबारे सूचना आदान–प्रदानगर्ने अमेरिकी प्रस्तावमाथि काम गर्ने आधार बनाएका छन् । ताइवानलगायत सुरक्षा तथा रणनीतिक विषयमा मतभेद कायमै छन् । त्यसैले वार्ताले प्रतिश्पर्धा अन्त्य गरेको भन्दापनि त्यसलाई नियन्त्रणमा राख्ने प्रयास गरेको देखिएको छ । गतसाता भएको वार्ताको तात्कालीन परिणाम स्थिरता र संवादको निरन्तरता हो । तर त्यसलाई अमेरिका र चीन सम्बन्धमा ठूलो मोड वा स्थायी मेलमिलाप भन्न सकिने अवस्था छैन । नेपालका दृष्टिले हेर्दा अमेरिका र चीनबीच तनाव घट्नु विश्व व्यापार र आपूर्ति श्रृंखलाका लागि सकारात्मक हुनसक्ने देखिएको छ । नेपालले अबको अवस्थामा कसैप्रति परनिर्भर नभएर सन्तुलित कूटनीति, आर्थिक विविधिकरण र राष्ट्रिय हितमा आधारित सम्बन्धलाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।

