१ अर्ब ३ करोडभन्दा बढी हुण्डी कारोबार :ज्योति शाहीलाई पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका–१३ का ज्योति शाहीलाई पक्राउ गरेको छ। सीआईबीका अनुसार केही व्यक्तिहरू हुण्डी कारोबारमा संलग्न रहेको गोप्य सूचना प्राप्त भएपछि शंकास्पद व्यक्तिहरूमाथि अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा शाहीको संलग्नता देखिएको हो।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शाहीलाई सुनसरीको धरान उपमहानगरपालिका–५, खैरेनीबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार शाहीले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा २०६८ भदौ १६ गते दर्ता गरिएको दर्ता नम्बर १४८२ तथा आर्थिक वर्ष २०६८/६९ मा ‘शाही मनि ट्रान्सफर’ नामबाट व्यवसाय सञ्चालन गर्दै आएका थिए। अनुसन्धानका क्रममा कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा बैंक खाता खोली ती खाताहरू सञ्चालन गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती खातामार्फत करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ बराबरको रकम कारोबार भएको देखिएको छ। विभिन्न असम्बन्धित व्यक्तिहरूले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल ल्याई स–साना रकममा विभाजन गरी कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिहरूको खातामा पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। यसै आधारमा सुनसरी जिल्ला अदालतबाट २०८३ असोज ६ गते हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा पक्राउ अनुमति लिइएको थियो। पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
