२०औं एसियाली खेलकूद सुरु हुँदै

२०८३ आश्विन ३ गते, शनिबार

काठमाडौँ । एसियाको सर्वाधिक ठुलो खेल मेला एसियाली खेलकुद आजदेखि सुरु हुँदैछ। आइची नागोया एसियाडको उद्घाटन समारोह आज पालोमा मिजुहो रङ्गशालामा भएपछि आइची नागोया एसियाड आधिकारिक रूपमा प्रारम्भ हुनेछ। ‘इमाजिन वन एसिया’को नारासहित २०औँ एसियाली खेलकुद (एसियाड) धुमधामसाथ आयोजना गर्न जापानको तेस्रो ठुलो सहर नागोया तम्तयार छ।
उद्घाटनअघि नै महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, मोडर्न पेन्टथालन, महिला भलिबल, सफ्ट टेनिस सुरु भइसकेका छन्। यो एसियाडको समापन समारोह असोज १८ गते हुनेछ। उद्घाटन समारोहमा जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाकोको पनि उपस्थिति रहने बताइएको छ। जापानले उद्घाटन समारोहका लागि मात्र १० हजार प्रहरी तथा सुरक्षा बल खटाएको छ।
एसियाका करिब १७ हजारभन्दा बढी खेलकर्मी यस खेल महाकुम्भमा सहभागिता जनाउन अहिले जापानको आइची नागोयामा छन्। यो सङ्ख्या ओलम्पिकभन्दा पनि धेरै हो। एसियाडलाई ओलम्पिकपछिको विश्वकै दोस्रो ठुलो खेलकुद प्रतियोगिता मानिन्छ तर खेल र खेलाडी सङ्ख्याको हिसाबले पछिल्लो पेरिस ओलम्पिकभन्दा आइची नागोया एसियाड बृहत् बनेको छ।
नागोयाबाहेक टोकियो, सिजोका, गफु र ओसाकामा पनि केही खेल खेलाइने छ। खेलस्थल मात्र ५४ वटा छन्। पछिल्लो पेरिस ओलम्पिकमा ३२ खेल थिए भने आइची नागोया एसियाडा ४३ खेल समावेश गरिएको छ। सबै ओलम्पिक्स खेल त छँदै छ, त्यसबाहेक नागोया एसियाडमा अहिले विश्वमा लोकप्रिय मिक्स मार्सल आट्र्स (एमएमए) पनि थपिएको छ। यसबाहेक पाडेल, टेकबल, सर्फिङ, भर्चुअल तेक्वान्दो र फ्रिस्टाइल बिएमएक्स खेलले पनि एसियाली खेलकुदमा पदार्पण गर्दै छ।
नेपालले २१ खेलमा सहभािगता जनाउने छ। जसका लागि १३५ नेपाली खेलाडी जापानमा छन्। पहिले घोषणा गरेभन्दा दुई खेलाडी घटेका हुन्। एक खेलाडी मात्र भएको डान्स स्पोट्र्स सहभागिता भएन भने उसुका मुकेश पण्डित पनि अस्वस्थताका कारण एसियाड आउन सक्नुभएन। खेल सङ्ख्याका हिसाबमा पछिल्ला केही एसियाडभन्दा यो सानो टोली हो। यद्यपि नेपालले विगतभन्दा यस पटक धेरै पदकको आशा गरेको छ। यस पटक नेपालले स्वर्णसहित दोहोरो सङ्ख्यामा पदकको लक्ष्यसहित तयारी गरेको छ।
विगतमा केही महिनाअघि मात्र तयारी थालिन्थ्यो। यस पटक नेपाली टिमहरूले तीन वर्षदेखि एसियाडको तयारी गरेको छ। पछिल्लो दुई महिनादेखि सबै टिम उच्च स्तरीय बन्द प्रशिक्षणमा थिए। यसै गरी नेपाली धेरै टिमका खेलाडी वैदेशिक प्रशिक्षणपछि जापान आएका छन्। एसियाडमा ४३ खेलका ७१ विधामा ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छ। उद्घाटन समारोहमा राष्ट्रिय महिला कबड्डीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले नेपालको राष्ट्रिय झन्डा बोक्नुहुने छ।
नेपाल प्रथम एसियाडमै खेल्ने भाग्यशाली राष्ट्र हो। प्रथम एसियाली खेलकुद हुँदा मात्र ११ राष्ट्र थिए। सहभागिताको हिसाबमा एसियाली खेलकुदमा नेपालको योगदान उल्लेखनीय छ। दोस्रो एसियाडबाहेक नेपालले सबै संस्करणमा भाग लिएको छ तर प्रदर्शनको हिसाबमा नेपाल धेरै पछाडि छ। यद्यपि एसियाली खेलकुदमा नेपाल सन् १९८६ देखि पदकविमुख नभएको तथ्यलाई पनि बिर्सन हुँदैन। एसियाली खेलकुदमा नेपालले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन।
बैङ्ककमा भएको १३ औँ संस्करणमा तेक्वान्दो खेलाडी सविता राजभण्डारी, जाकार्ता–पालेमबाममा भएको १८औँ संस्करणमा पाराग्लाइडिङ र पछिल्लो संस्करणमा कराँतेका एरिका गुरुङले दिलाएको रजत अहिलेसम्म नेपालका लागि एसियाडमा सबभन्दा ठुलो पदकको रूपमा रहिआएको छ। नेपालले दक्षिण कोरियामा भएको सोल एसियाडमा पदक जित्न सुरु गरेको थियो। एसियाडमा नेपालले अहिलेसम्म तीन रजत र २३ कांस्य गरी कुल २६ पदक जितिसकेको छ। तेक्वान्दोले सबैभन्दा बढी एक रजत र १३ कांस्य, कराँतेले एक रजत र दुई कांस्य, पाराग्लाइडिङले एक रजत, बक्सिङले सात कांस्य र कबड्डीले एक कांस्य पदक जितेको छ। त्यसैले अहिले नेपालसामु सबभन्दा ठुलो पहिलो पटक स्वर्ण पदक जित्नु र लगातार पदक जितको क्रमभङ्ग नगर्नु नै हो। नेपाली टिमले यसलाई प्रेरणाका रूपमा लिन सक्छ। यस पटक कराँते, उसु, बक्सिङ, क्रिकेट जस्ता खेलाडीबाट नेपालले पदकको आशा गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]