इन्द्रजात्राका विभिन्न धार्मिक साइत सार्वजनिक

२०८३ भाद्र २७ गते, शनिबार


काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको ऐतिहासिक तथा साँस्कृतिक पर्व इन्द्रजात्राका विभिन्न धार्मिक साइत सार्वजनिक गरेको छ। भाद्रपद शुक्ल द्वितीयाबाट सुरु हुने यस पर्वका लागि इन्द्रध्वजाको लिङ्गो तयार पार्न भक्तपुरको चित्तपोल वन जाने साइत भदौ २८ गते आइतबार बिहान ९:५३ बजे र रूख काट्ने साइत सोही दिन राति ८:४७ बजे तय गरिएको छ।
समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार काठ काटिएपछि उक्त लिंगाेलाई असोज ३ गते शनिबार बिहान ८:०५ बजे नगर प्रवेश गराइने छ। त्यसपछि असोज ७ गते बुधबार बिहान ७:४७ बजे इन्द्रध्वजोत्थान (लिंगाे ठड्याउने) काम गरिने कार्यक्रम छ।
पर्वको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा रथयात्रा गराइनेछ, जहाँ राष्ट्रपति लगायतका अतिविशिष्ट व्यक्तित्वहरूले हनुमानढोकास्थित गद्दी बैठकबाट कुमारी, गणेश र भैरवको यात्रा अवलोकन गर्ने परम्परा छ।
यसैगरी, असोज १० गते शनिबार माथिल्लो टोलमा यात्रा गराइनेछ भने असोज १३ गते मंगलबार महिलाहरूले मात्र रथ तानेर नानीचा यात्रा सम्पन्न गर्नेछन्। असोज १३ गते राति ९:२५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको छ। लिङ्गो ढालेपछि राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेसँगै १३ दिन लामो यो ऐतिहासिक जात्रा औपचारिक रूपमा समापन हुनेछ।

प्रतिक्रियाहरु

[anycomment]