मानब पिसाबबाट उत्पन्न तापवाट हिमनदी पग्लिनमा योगदान !
काठमाडौँ । सगरमाथा आरोहणका क्रममा प्रयोग हुने इन्धन, आरोही तथा सहयोगी कर्मचारीबाट निस्कने पिसाबबाट उत्पन्न तापवाट हिमनदी पग्लिनमा योगदान गरिरहेको तथ्य खुलाशा भएको छ । नेपाली तथा अमेरिकी वैज्ञानिकहरूको टोलीले गरेको उक्त अध्ययन रिजिनल इन्भाएरमेन्टल चेन्ज जर्नलमा प्रकाशित भएसंगै सो तथ्य खुलासा भएको हो । अध्ययनका अनुसार खुम्बु हिमनदीमाथि हरेक वर्ष करिब १ हजार ६ सय पालसहितको आधार शिविर सञ्चालन हुन्छ। शिविरमा भान्सा, स्नानगृह, जेनेरेटर, वाइफाइ तथा कतिपय अवस्थामा भुइँ तताउने प्रणालीसमेत प्रयोग हुने गर्छ। यी गतिविधिबाट उत्पन्न तापले आधार शिविर आसपासको सतहको तापक्रम बढाउने र त्यसले हिमनदीको बरफ पग्लिने प्रक्रियालाई तीव्र बनाउन सक्ने अध्ययनले औँल्याएको छ।
अध्ययनका अनुसार उच्च उचाइमा आरोहीहरूले शरीरमा पानीको मात्रा कायम राख्न बढी पानी पिउने भएकाले पिसाबको मात्रा पनि बढ्छ। सन् २०२३ को आरोहण सिजनमा आधार शिविर क्षेत्रमा दैनिक करिब ६ हजार ७६६ लिटर पिसाब उत्पादन भएको अनुसन्धानकर्ताहरूको अनुमान छ। अनुसन्धानकर्ता खिमलाल गौतमसहितको टोलीले मानव शरीरबाट करिब ३७ डिग्री सेल्सियस तापक्रममा बाहिर निस्कने पिसाबले समेत ताप बोकेर ल्याउने भएकाले त्यसको केही हिस्सा बरफ पगाल्न प्रयोग हुने उल्लेख गरेको छ।
वैज्ञानिकहरूले उक्त तापबाट सम्भावित रूपमा पग्लन सक्ने बरफको मात्रा गणना गर्दा सन् २०२३ को आरोहण सिजनमा पिसाबबाट मात्रै करिब १५४ टन बरफ पग्लिन सक्ने अनुमान गरेका छन्। यद्यपि पिसाबको सम्पूर्ण ताप बरफमा पुग्दैन। यसको ठूलो हिस्सा हावा र चट्टानमा फैलिने भएकाले वास्तविक प्रभाव त्यसको केही अंशमा सीमित हुने अध्ययनले स्पष्ट पारेको छ। मानव पिसाबभन्दा आधार शिविरमा हुने इन्धनको खपत हिमनदी पग्लिनुको ठूलो कारण रहेको अध्ययनले देखाएको छ।
सन् २०२३ को आरोहण सिजनमा आधार शिविरमा खाना पकाउन, तापक्रम व्यवस्थापन गर्न तथा विद्युत् उत्पादनका लागि करिब ८२४ सिलिन्डर एलपी ग्यास, १८ हजार ९३५ लिटर मट्टितेल र ५ हजार १३० लिटर पेट्रोल प्रयोग भएको अध्ययनमा उल्लेख छ।
मानव गतिविधिबाट उत्पन्न तापका कारण हुने हिम पग्लाइमा इन्धनको प्रयोगले करिब ९४ प्रतिशत योगदान पुर्याएको र पिसाबबाट उत्पन्न तापको योगदान करिब ६ प्रतिशत रहेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र अन्य धेरै क्षेत्रको तुलनामा तीव्र गतिमा तातिरहेको वैज्ञानिकहरूले चेतावनी दिँदै आएका छन्। सन् २०१९ मा साइन्स एभभान्सेसमा प्रकाशित एक अध्ययनले सन् २००० पछिको हिम क्षति अघिल्लो २५ वर्षको तुलनामा झण्डै दोब्बर भएको देखाएको थियो। नयाँ अध्ययनका अनुसार खुम्बु हिमनदीको अन्य भागको तुलनामा आधार शिविर क्षेत्रमा सतहको तापक्रम अझ तीव्र गतिमा बढिरहेको छ। त्यहाँको सतह तापक्रम वार्षिक करिब ०।२८ डिग्री सेल्सियसका दरले बढिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
