नगरकोटमा चङ्गा चेट उत्सव !
काठमाडौँ । दसैँको पूर्वसन्ध्यामा नगरकोटमा यही असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको दुई दशकभन्दा लामो चङ्गा उडाउने परम्परालाई पुनः निरन्तरता दिँदै यस वर्षदेखि उत्सवलाई बृहत् रूपमा सञ्चालन गर्न लागिएको हो।
नेपाली संस्कृति र परम्पराको संरक्षण, पारिवारिक जमघट तथा सामूहिक उत्सवको प्रवर्द्धन गर्ने उद्देश्यले नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। उत्सवमार्फत चङ्गा उडाउने नेपाली परम्परालाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै विदेशी पर्यटकमाझ समेत यसको सांस्कृतिक महत्त्व परिचित गराउने लक्ष्य राखिएको छ।
चार दिनसम्म चल्ने उत्सवमा चङ्गा उडाउने गतिविधिसँगै लाइभ म्युजिक, नृत्य, फुड स्टल, फेस पेन्टिङ, पोटरी, जादु तथा स्ट्यान्डअप कमेडीलगायत मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिनेछन्। सहभागीले दसैँ विशेष परिकारको स्वाद लिनुका साथै हिटेड स्विमिङ पुल र ज्याकुजीको सुविधा पनि उपभोग गर्न सक्नेछन्। काठमाडौं उपत्यकाबाट नगरकोट आउने सहभागीका लागि अतिरिक्त शुल्कमा यातायातको व्यवस्था पनि गरिने आयोजकले जनाएको छ।
